कृष्णबहादुर राई
लन्डन, असार २६ – बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खामाथि भएका भेदभाव सम्बन्धमा जवाफ नदिएर छानबीनमा ‘असहयोग’ गरेको छ । गोर्खा सम्बन्धी विद्यमान असमानता एवं समस्याबारे छानबीन गरी प्रतिवेदन पेश गर्ने जिम्मा पाएको ब्रिटेनको सर्वदलीय संसदीय समितिलाई मन्त्रालयले जवाफ पठाउन विलम्ब गरिदिएको हो ।
समितिले भूपू गोर्खामाथि के कस्तो भेदभाव भएको हो भन्नेबारे रक्षा मन्त्रालयसँग विभिन्न जिज्ञासा राखेपनि उसले छानबीन समितिलाई जवाफ पठाउन विलम्व गरिदिएको छ । यसबाहेक पार्लियामेन्ट ब्याक वेञ्च कमिटीले संसदमा वहसका लागि समय दिन नसक्दा पनि प्रतिवेदन सार्वजनिक हुन ढिलाइ भइरहेको जानकारी समिति अध्यक्ष ज्याकी डोयल प्राइसले गोर्खाहरुलाई दिएकी छिन् । छानबीन समितिले संसदमा कम्तीमा चारघण्टा लामो वहस गर्न समय मागेको थियो ।
समितिले प्रतिवेदनलाई अन्तिम रुप दिन आगामी १५ जुलाइमा वृहत बैठक डाकेको छ । समिति अध्यक्ष प्राइसले रक्षा मन्त्रालयको जवाफ र संसदमा वहसका लागि समय नपाए सिधै प्रधानमन्त्री डेभिड क्यामरुनसमक्ष प्रतिवेदन बुझाउने योजना बनाएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले जनाए । क्यामरुनले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने आश्वासन दिएपछि गोर्खाहरु सकारात्मक नतिजा आउने प्रतिक्षामा छन् ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईको १५ दिने आमरण अनसनका कारण प्रधानमन्त्री क्यामरुनले गोर्खा असमानताबारे छानबीन गर्न निर्देशन दिएपछि नोभेम्बर अन्तिम साता समिति गठन भएको थियो ।
सर्वदलीय संसदीय समितिले समान पेन्सन, १८ वर्ष नाघेका सन्तानलाई पनि आवासीय अधिकार, निशुल्क औषधोपचार सुविधा, क्षतिपूर्ति लगायत पांच मागबारे विभिन्न वीज्ञ एवं दस्तावेजहरुमा आधारित रहेर छानबीनको अन्तिम प्रारुप तयार गरेको छ ।
