गोविन्द घर्ती
देवदह , असार २४ – आर्थिक बर्ष सकिन लाग्दा विनियोजित रकम सक्ने उद्देश्यले अहिले विभिन्न कार्यक्रमहरु संचालन भईरहेका छन् ।
दैनिक रुपमा राज्यको करोडौ रुपैया नाम मात्रको कार्यक्रम गरेर रकम सिद्धयाउने गरेका घटनाहरु सार्वजनिक भईरहेका छन् । तत्कालिन देवदह गाउ विकास समितिले आर्थिक बर्ष २०७०-०७१ का पशुस्वास्थ्य शिविरका लागि विनियोजित रकम सक्ने उद्देश्यले मात्र कार्यक्रम गरिएको छ । किसानहरु अहिले खेती लगाउन व्यस्त रहेको समयमा पशुस्वाथ्य शिविर संचालन गरेर विनियोजित रकम सक्ने काम मात्र भएको किसानहरुको गुनासो रहेको छ ।
पशुस्वास्थ्य शिविर संचालन गर्नको लागि तत्कालिन देवदह गाउ परिषदले ७५ हजार विनियोजन गरिएको थियो । पशुस्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा जिल्ला पशुसेवा कार्यालय रुपन्देहीका प्रमुख डा.लक्ष्मणबहादुर ढकालले किसान र कार्यालयको फुर्सद नभएको समय भएकाले शिविर सन्तोष जनक हुन नसक्ने बताएका थिए । यस्ता कार्यक्रमहरुमा किसानको पहुच पुर्याउन फुर्सदिलो समय हुनु पर्नेमा डा.ढकालले जोड दिए ।
सोही कार्यक्रममा बोल्दै देवदह नगरपालिका कार्यकारी अधिकृत टेकराज भट्टराईले भने सवै किसानकोमा सूचना पुगेको दावी गरिहदा पशुको उपस्थिती भने न्युन रहेको थियो । आयोजकले भने किसानलाई अनुमानको भरमा औषधी वितरण गरेको र पशुस्वास्थ्य शिविरमा पशुनै नलगि औषधी वितरण गर्ने काम गरिरहेको किसानहरुको गुनासो रहेको छ । कतिपय किसानहरुले पशु लैजादा समेत जाच नगरी अनुमानको भरमा औषधी दिएको भन्दै विवाद समेत गरेका थिए । औषधी तथा अन्य सामाग्री खरीद गर्दा समेत खरीद प्रक्रिया नपुर्याएको किसानहरुको आरोप रहेको छ ।
स्थानी किसान हरीप्रसाद मरासिनी रमक सक्नका लागि अपारदर्शि रुपमा शिविर संचालन गरेको बताउनु हुन्छ । पचास हजारको औषधी खरीद गर्दा कुनै प्रकारको खरीद प्रक्रिया नपुर्याइ औषधी खरीद गरिएको कारण कमिसनको खेल हुन सक्ने सरोकारवालाहरुको आशंका रहेको छ । खरीद गर्ने जिम्मेवारी पाएका पशुसेवा केन्द्र देवदहका प्रमुख ईन्द्रबहादुर खड्का कोटेशन विना औषधी खरीद गरेको स्वीकार गरे ।
पारदर्शिताको वारेमा पशुस्वास्थ्य तथा वाझोपन निवारण शिविर व्यवस्थापन समितिका अध्यक्ष गिरप्रसाद पाण्डे भने प्राविधिकले सामान खरीदको जिम्मेवारी लिएको कारण आफुलाई कुनै जानकारी नभएको बताउछन ।
