सिद्घार्थ हिम्डुङ्ग
काठमाडौँ, २०७१ जेष्ठ २९ – गत १३ दिन देखि अवरुद्घ व्यवस्थापिका संसदले हिजो देखि निकास पाएको छ । सत्तापक्ष र प्रतिपक्षविच भएको ४ बुँदे सहमतिमा सरकारले ध्यान नदिएकोमा सरकारको तर्फबाट सो सहमति कार्यान्वयन गर्ने बचनबद्घता जाहेर गरेपछि प्रतिपक्षले सदनमा कुनै अवरोध नगरी सदन चल्न दिएको थियो ।
संसद सुचारु भएपछि राष्ट्रिय जनमुक्ती पार्टीका उपाध्यक्ष तथा सभासद शिवलाल थापामगरले वर्तमान सरकार गठन भएको लामो समय बितिसक्दा पनि नेपाली जनताको हितमा कुनै ठोस कार्य गर्न नसकेको विचार व्यक्त गर्नुभयो । त्यसरीनै उहाँले– आमाको काखमा बसिरहेको बालक दिनदहाडै अपहरण हुन्छ । बाटोमा हिँडिरहेका चेलिबेटिमाथि हातपात हुन्छ, अपहरण हन्छ, बलात्कृत हुन्छ, त्यस प्रति सरकारको ध्यान जाँदैन । मूलुकको संविधान निर्माण गर्न संविधानसभामा निर्वाचित भएर आएका सभासदहरु दिनदहाडै लुटिन्छन् र ऊनिहरुप्रति हातपात हुन्छ तर सरकारको ध्यान त्यस तर्फ जाँदैन । वर्तमान सरकारको ध्यान ढुकुटिमा रहेको रकम विभिन्न शिर्षकहरुमा रकमान्तर गरि पशुपतिको बाँदरलाई भक्तजनहरुले अक्षता छर्किए जस्तै आ–आफ्नो जिल्लाका कार्यकर्तालाई रकम बाँड्ने तर्फ केन्दि्त भएको देखिन्छ । संविधानसभाको निर्वाचन भएको ७ महिना बितिसक्दा पनि संविधानसभाले पुर्णता पाएको छैन । सरकारले मनोनित गर्नुपर्ने २६ जना सभासद मनोनयन हुन सकेको छैन । काम गर्न नसक्ने र शान्ति सुरक्षा दिन नसक्ने यो हुतिहारा सरकारले तुरुन्त राजिनामा दिनुपर्छ ।
तत्पस्चात् उहाँले ४ दलिय सिन्डिकेटको कारणले पहिलो संविधानसभाबाट संविधान निर्माण हुन सकेन । ५९७ सभासदहरुलाई बन्धक बनाएर ३ जना बाहुन र १ जना मधेसी मिली विभिन्न ५ तारे होटल र रिसोर्टहरुमा बसेर नेपाली जनतालाई झुटो आश्वासन दिने जुन काम गरियो त्यो नै असंवैधानिक कदम थियो ।
उहाँले– हिजोका ति तिता अनुभवहरुलाई फेरि दोहोरिन दिन हुँदैन थियो । तर आज पुनः उही गल्ति दोहेरयाउने काम कांग्रेस, एमाले र एमाओवादीले गरेको छ । यो नै संविधानसभा नियमावली २०७० विपरित छ यो चार दलिय सिन्डिकेटलाई राष्ट्रिय जनमुक्ती पार्टीले घोर बिरोध गर्दछ । यदि यसलाई पुनर्विचार नगर्ने हो भने हाम्रो गठबन्धनले संसद पुनः अवरोध गरि चल्न नदिने उद्घोषण गर्नुभयो ।
