पुर्वी पहाडमा हिंसात्मक गतिविधि गर्ने समुह संग सरकारको वार्ता हुने

Read Time:3 Minute, 23 Second

भैरब आङला, धरान

जातीय राज्यको माग गर्दै पूर्वी पहाडमा हिंसात्मक गतिविधिमा संलग्न विभिन्न पाँच वटा भूमिगत संगठनसँग सरकारले पुनः वार्ता गर्ने भएको छ । सशस्त्र समूहसँग वार्ताका लागि संविधानसभा वार्ता उपसमितिका संयोजक आनन्द ढुंगानाको संयोजकत्वमा वार्ता टोली गठन भएको छ । जेठ अन्तिम साता वार्ता गर्ने गरी वार्ता उपसमितिले सशस्त्र समूहहरुलाई खबरसमेत पठाइसकेको छ । ढुंगाना संयोजक रहेको वार्ता टोलीका सदस्यहरुमा एमालेबाट सुरेन्द्र पाण्डे, एमाओवादीबाट शक्ति बस्नेत, मधेसी दलबाट सर्वेन्द्रनाथ शुक्ला र संघीय समाजवादीबाट अध्यक्ष अशोक राई रहेका छन् । सरकारले वार्ताका लागि सशस्त्र संघर्षत किरात जनवादी वर्कस, खम्बुवान राष्ट्रिय मोर्चा (संयुक्त), लिम्बूवान स्टेट फोर्स संयुक्त जातीय मोर्चा र पल्लो किरात लिम्बूवानलाई खबर समेत पठाइसकेको छ ।

सरकारले खबर पठाएपछि सशस्त्र समूहहरु वार्ताका लागि सकारात्मक भएका छन् ।मध्यस्थकर्ताको भूमिका खेलिरहेका सभासद आरके खम्बूको भनाइ अनुसार जेठ २९ र ३० मा धनकुटाको भेडेटार र इलाममध्ये एक ठाउँमा वार्ता हुने तय भएको छ । सरकारले ती सबै समूहलाई राजनैतिक दलको परिचय दिँदै उनीहरुसँगको वार्तालाई निर्णायक बनाएर संविधान निर्माणमा सहभागी गराउने तयारी गरेको छ । ०६२/६३ को दोस्रो जनआन्दोलनबाट एमाओवादी शान्तिपूर्णराजनीतिमा आएपछि असन्तुष्ट नेताहरु मिलेर जातीय राज्य माग गर्दै किरात जनवादी वर्कस पार्टी खोलेर भूमिगत गतिविधि गर्दै आएका थिए । त्यसैगरी अन्य समूहले पनि जातीय राज्य, पहिचानसहितको संघीयता र संविधानको माग गर्दै आएका छन । 

लिम्बूवान क्षेत्रमा सक्रिय सशस्त्र समूहले भने जातीय अधिकार तथा छछुट्टै राज्यको माग पनि उठाउँदै आएका छन । सशस्त्र समूहहरुले पटक पटक गर्ने आन्दोलन तथा बन्द गर्ने क्रममा पक्राउ नेता कार्यर्ताले अहिले पनि जेल जीवन बिताइरहेका छन् । वर्कसकासहित सशस्त्र समूहका करिब डेढ सय जना नेता कार्यर्ता विभिन्न जेलमा रहेको अनुमान गरिएको छ । सरकारले वर्कस र अन्य सशस्त्र समूहसँग यसअघि पनि वार्ता गरिसकेको छ । यो पटकको वार्तालाई भने निर्णायक बनाएर सबै सशस्त्र समूहलाई शान्तिपूर्णराजनीतिमा फर्काउने सभासद खम्बूले बताएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %