देब पचभैया
पाल्पा, जेठ १४ – नेपाल मगर महिला संघको आयोजनामा बुधबार देखि पाल्पाको तानसेनमा दुई दिने एच,आई,भि एड्स सम्बन्धी जनचेतना मुलक अन्र्तक्रियात्मक कार्यक्रम शुरु भएको छ ।
तालिममा पाल्पा, गुल्मी , रुपन्देही र स्याङ्गजाका ४० बढी महिलाहरुको सहभागीता छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौको सहयोगमा भएको कार्यक्रमको जिल्ला अस्पताल पाल्पाका डाक्टर निसा नेपालले उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दे डाक्टर नेपालले पछिल्लो पटक घरेलु महिलाहरु बढी एच,आई,भि एड्को संक्रमणमा परेको बताए । श्रीमानको भरपर्दा आम महिलाहरुले बढी दुख पाएको पनि उनको भनाई थियो ।
दुई दिन सम्म चल्ने प्रशिक्षणमा ईन्द्रणी समाज केन्द्रका कार्यक्रम प्रमुख रुद्र मश्राङ्गी लगाएतले प्रशिक्षण दिने र प्रशिक्षणमा एच,आई,भि एड्स यौनरोग, यसको समस्या र समाधानका उपाय लगाएतका बिषयमा छलफल गरिने मगरमहिला संघका केन्द्रिय अध्यक्ष गंगा खासुले जानकारी दिए ।
तानसेन स्थित होटल रक एण्ड एजेन्सीमा भएको तालिम उद्घाटन कार्यक्रममा
मगर बिधार्थी संघ पाल्पाका अध्यक्ष शमशेर सारु, मगर संघ पाल्पाका उपाध्यक्ष धनसिंग थापा, मगर संघ पाल्पाका सल्लाहकार बल बहादुर राना, मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहा, जनजाति महासंघ पाल्पाका अध्यक्ष त्रिरत्नलाल शाक्य, जनजाति पत्रकार महासंघका पश्चिमाञ्चल प्रमुख देब पचभैया लगाएतले बोलेका थिए ।
गंगा खासुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन हिरा राना र स्वागत पुष्पा थापाले गरेका थिए ।
