देब पचभैया
पाल्पा, वैशाख ३१ – एचआइभी सङ्क्रमितहरुको अवस्था पत्ता लगाउने सीडिफोर गणना मेशिन पाल्पामा स्थापना गरिएको छ । जिल्ला एड्स समन्वय समितिको पहलमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले मेशिन पाल्पालाई प्रदान गरेको हो । युनाइटेड मिशन अस्पताल तानसेनमा मेशिनको सञ्चालन गरिएको हो ।
मेसिनले शरिरमा रहेको रोगसँग लड्ने सेतो रक्तकोषको परिक्षण गर्छ । यसले प्रतिरोध क्षमता पत्ता लगाई कम भएकाहरुकालागि एन्टी रेक्ट्रो भाइरल (आयु लम्ब्याउने औषधी) दिनको लागि सहयोग गर्ने र औषधीले सङ्क्रमण दर घटाउने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए ।
एचआइभी सङक्रमितलाई सीडिफोर गणनाकालागि काठमाण्डौं जाँदा खर्च धेरै लाग्ने गरेको र अब पाल्पामा यो सेवा सुरु भएपछि स्याङ्जा, गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी ,पर्बत लगायतका सेवाग्राहीहरुले सहज रुपमा सेवा पाउने शर्माले बताए ।
जिल्ला एड्स समन्वय समिति पाल्पा संयोजक सुनिता भट्टराईले गुणस्तर नियन्त्रण प्रणाली सहितको मेशिनलाई आवश्यकता अनुसार फिल्डमै समेत प्रयोगमा ल्याउन सकिने जानकारी दिएका छन् ।
पाल्पामा २ सय ५० बढी खुलेर औषधी उपचार गराईरहेका एच,आई,भि एड्सका सक्रमित हरु रहेका छन् ।
