देब पचभैया
पाल्पा, बैशाख ३०- आदिवासी जनजाति समुदायलाई लक्षित गरेर धुम्रपान तथा लागु औषध दुव्र्यसनी बिरुद्धको सचेतना कार्यक्रम छहरामा मंगलबार सम्पन्न भएको छ । पाल्पाको पश्चिमी भेगका २२ वटा गाविसका आदिवासी जनजाति प्रतिनिधिहरुलाई धुम्रपान र लागु पदार्थ दुव्र्यवसनका बारेमा जानकारी दिइएको हो ।
आदिबासी जनजाति समुदायमा रहेको परम्परागत प्रचलनले मानिसहरु धुम्रपान तथा अन्य लागु पदार्थको प्रयोग गरेको भन्दै त्यसलाई न्यूनीकरण गर्न सचेतना कार्यक्रमको आयोजना गरिएको हो । जिविस अन्तर्गत आदिवासी जनजाति जिल्ला समन्वय समिति र नेपाल आदिवासी जनजाति महासंघ पाल्पाको आयोजनामा भएको सचेतनामा २२ गाविसका ६० जनाको सहभागिता रहेको थियो ।
सचेतना कार्यक्रमको उद्घाटन गर्दै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्का सदस्य तथा नेपाल मगर संघका बरिष्ठ उपाध्यक्ष वसन्त घर्तीमगरले सचेतना कार्यक्रमले सामाजिक र सांस्कृति विकृति कम हुने बताए । उनले राजनीतिक सत्ता परिवर्तन सहजै भएपनि सामाजिक तथा सांस्कृतिक व्यवहार परिवर्तन गर्न गाह्रो हुने भन्दै समाज सुधार गर्न सचेतना आवश्यक रहेको बताए । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै अधिवक्ता दोलख रास्कोटीले कुनै समुदायमा लागु पदार्थ तथा धुम्रपानलाई संस्कारले वैधानिकता दिएपनि यसको सही प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिए । छहरा गाविसका सचिव रविन्द्र रायमाझीले सचेतना तालिमले समाज परिवर्तनमा सकारात्मक भूमिका निर्वाह गर्ने विस्वास गरे।
यस्तै नेपाल आदिवासी जनजाति महासंघ पाल्पाका अध्यक्ष त्रिरत्नलाल शाक्यले आदिवासी जनजाति समुदायमा रहेको दुव्र्यसन हटाउन सरकारले मात्र सहयोग गरेर नहुने भन्दै सबैको पहलमा सामाजिक सुधार गर्न सकिने धारणा राखेका थिए ।
सचेतना कार्यक्रममा धुम्रपान, लागु औषध दुव्र्यसनी तथा कानुनी प्रक्रियाका बारेमा जानकारी गराईएको थियो । महासंघका अध्यक्ष त्रिरत्न शाक्यको सभापतित्व, उपाध्यक्ष रामबहादुर गरंजा को संचालन र सहसचिव मायादेवी बज्राचार्यको धन्यवाद सहित कार्यक्रम सम्पन्न भएको थियो । सचेतनामा २२ गाविसका आदिवासी जनजाति गाउँ उत्थान समन्वय समितिका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
