देब पचभैया
पाल्पा, बैशाख २५ – लुम्बिनी अंचल अन्र्तगत पाल्पा लगाएतका जिल्ला हरुका एक हप्ता देखि पेट्रोलको अभाब भएको छ । पाल्पाका केही खुद्रा ब्यापारीहरुले एक लिटर तेललाई दुई सय पचास रुपिया सम्ममा बिक्री गरिरहेका छन् । तानसेनमा रहेका ५ वटै पेट्रोल पम्पहरुमा हरियो पलास्टिक लगाएर पेट्रोल छैन लेखिएको छ । पहुचवालाहरुले जिल्ला प्रशासनको सिफारिसमा पेट्रोल पम्पका संचालकहरुकै घरमा गएर तेल माग्न थालेपछि संचालकहरु मोबाईल अफ गरेर बसेका छन् । आफुहरु संग पेट्रोल नहुदा पनि प्रशासनले तेल देउ भन्दै सिफारिस गरिरहेको पम्प संचालकहरुले गुनासो गरेका छन् ।
हप्तौ दिन देखि पेट्रोल नपाएपछि मोटरसाईकल अनि साना सवारीहरु कम चलेका छन् । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी निरन्जन ज्ञवालीले अत्याबश्यक भएकाहरुलाई आफुहरुले सिफारिस गरेर तेल उपलब्ध गराएको बताउनुभएको छ । तर प्रशासनको सिफारिस पाएकाहरुलाई पनि पम्प संचालकहरुले तेल छैन भन्दै फर्काईदिएका छन् । सिफारिस लिएर गएका नजिकका मान्छेहरुलाई भने पम्पवालाहरुले एक दुई लिटर दिएर पठाएका छन् ।
तेल चोरीको आरोपमा प्रहरीले गाडी चालक, मालिक पम्प संचालकहरुमा कारबाही अघि बढाएपछि उनीहरुले तेलनै ढुवानी बन्द गरे पछि तेलको अभाब भएको हो । अहिले लुम्बिनी अंचलका सबै जिल्लाहरुमा तेलको अभाब भएको छ ।
