देब पचभैया
नवलपरासी, बैशाख १४ – विद्युतको राष्ट्रिय प्रशारण लाइन पुग्न नसकेको नवलपरासीको धौवादी १ धौवादीमा वायु अर्थात हावाबाट निकालिएको विजुलीले गाउं झलमल भएको छ ।
पहिले विद्युत नहुंदा मट्टितेलबाट बालिने टुकीको भरमा रात काट्न बाध्य भएका यहाका बासिन्दालाई वायु उर्जा अर्थात हावाबाट उत्पादन गरिने विजुलीको उज्यालोमा बस्न पाएको जिबननै फेरिएको महसुस भएको बताएका छन् । विहानै उठेर काम गर्न र बेलुकी सम्म काम गर्न सजिलो भएको स्थानीय हुमबहादुर ठाडा मगरले बताए । वत्तिका कारण पढ्न नपाएका बालबालिकाहरुले समेत बढ्न पाएका छन् । बालबालिको पढाईमा समेत सुधार आएको धनबहादुर ठाडा मगरले बताए ।
१२ महिना चौविसै घण्टा हावा चलिरहने धौवादी डांडामा एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा हावाबाट गत २०६८ साल पौष महिनादेखि विद्युत उत्पादन शुरु भएको थियो ।
शतप्रतिशत मगर जाति रहेको यस गाउ“मा १ निमावि र १ ईलाका प्रहरी कार्यलय पनि छ । यहां सौर्य उर्जाबाट विजुली बाल्नुका अलावा कम्प्युटर चलाउने, टिभि हेर्ने, रेडियो चलाउन र मोवाइल फोन पनि चार्ज गर्ने सुबिधा भएको छ ।
वायुबाट १० किलोवाट र सोलरबाट २ किलोवाट गरी १२ वाटको विद्युत क्षमता उत्पादन गरेको बिजुलीले धौवादी १ धौवादीका ४८ घरधुरीका करिब चार सय बासिन्दा लाभांवित भएका छन् । वायुबाट सञ्चालन हुने ५-५ किलोवाटका दुई वटा टरवाइ सञ्चालनमा छन् भने सार्यबाट २ दशमलब १६ किलोवाट विद्युत उत्पादन गरिएको आयोजनाका इन्जिनियर गौरव दुलालले बताए ।
राष्ट्रिय प्रशारण लाइन पुगेको क्षेत्र अहिले अत्यावशयक विद्युत चाहिने समयमा करिब ७५ प्रतिशत अन्धकार हुन्छ । यस्ता साना आयोजनाबाट नवलपरासीको धौवादी गाउं भने चौविसै घण्टा झलमल हुने गरेको छ ।
