लोकलयको झंकार

Read Time:7 Minute, 58 Second

मनोज घर्तीमगर

तस्वीर : छवि मगर

कुनै मेला पर्व होस् वा अन्य कुनै अवसर । पोखरामा लोकदोहोरी घन्कीहाल्छन् । पछिल्लो समय त विभिन्न मेला र महोत्सव गर्ने प्रचलनले दोहोरीबिना ति कार्यक्रम अधुरा हुन्छन् । कुनै पनि महोत्सवमा दोहोरी मुख्य आकर्षण बन्छ । मिठो भाकामा रसिला गीत गाउँनेहरु यहाँ धेरै छन् । ती गीत सुन्दै रमाउने अनि कम्मर मर्काई–मर्काई नाँच्नेहरुको त गन्ती नै छैन । लोकगीतका लागि निकै उर्वर भूमि हो पोखरा । पहाड, तराई र हिमालसँगै जोडिएर हुर्किएको पोखरामा सोरठी र रोधीघरमा मायाप्रितिका कुराबाहेक हरेक जात जातिले आफ्नो पाईला–पाईलामा नाच र भावलाई पस्केका छन् । पछिल्लो समय पोखराका थुप्रै रेष्टुरेष्ट बारहरुमा व्यावसायिक रुपमै दोहोरी गाउनेहरु बढ्दै गएका छन् । राष्ट्रिय स्तरमा चर्चित थुपै गायक गायिका जन्मिएका छन् यहाँ ।

पोखराको लोक गायनको इतिहासमा स्वर्गीय झकलमान गन्धर्व, अलिमियालाई बिर्सनै हुँदैन । स्व.बुद्धिबहादुर परियार, कल्याण शेरचन, स्व.सोम ब्रजाचार्यले लोक लयलाई झंकृत बनाए । जनकवि केशरी धर्मराज थापा, सरोजगोपाल बज्राचार्य, बाबा राणाले सँधै लोकलयमा गीत गाए । लोक गीतकी कोईली हरिदेवी कोईराला, अमृत गुरुङ, प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, पद्मराज ढकाल, प्रज्ञारत्न बज्राचार्य, तीर्थ शेरचन, प्रविण गुरुङ, ईश्वर गुरुङ, रामभक्त जोजीजु, इतु पाल, दिलु गुरुङ, विनोद बानिया, धर्मेन्द्र सेवान समेत लोक लय समाते । एकताका पप गीतले खर्लप्पै खाएको पोखरामा फेरी लोकलय फर्किएको छ । ‘पछिल्ला पुस्ताका भाइबहिनीले बिस्तारै लोकलय समाउन थालेका छन्’ लोक गायिका हरिदेवी कोइराला भन्छिन्,‘एकताका यहाँ लोकभन्दा पप गीत हावी थियो, आखिर लोकलय भनेको जनजिब्रोमा झुण्डिने गीत हुन् अहिले फेरी पोखरामा लोक गीतको बहार छाएको छ ।’

शकुन्तला ज्ञवाली, धनबहादुर गायक, खिमबहादुर गन्धर्व, नन्दकला पुन, तारापति सुवेदि, बालुमाया पुन, राजन कार्की, रामजी खाँड, कृष्ण परियार, स्वर्गीय गोपाल उदासी, टिकामाया थापामगर, राजु गिरी, सुमन श्रापित, मनसुधन थापामगर, शान्ति डोटेल यहिको हावापानीमा खाई खेलेका हुन् । त्योबाहेक प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने,बाबा राण, चोलेन्द्र पौडेल,ऋषि अधिकारी,पार्वती जि.सी.लगायतले पोखरामै रहेर गीत संगीतको क्षेत्रमा लागि परेका छन् । एक जमानाको हिमाञ्चल नाट्य परिषद्का तीर्थ शेरचन, प्रज्ञारत्न बज्राचार्य, नारायण फोटोग्राफर, नारायण श्रेष्ठ, भवानी श्रेष्ठ, चमेली देवी, आशा थापा, रत्ना परियार, कुलदीप शेरचन, सेवा बज्राचार्य, बिजय शेरचन, शीला गुरुङ, हेम गुरुङ, चन्द्रा रञ्जितकारसँग मिलेर चेतन कार्कीले नेपाली लोकगीत र नेपाली लोकनाँचलाई उर्जा त दिए नै पोखराको सान बढाएका थिए । ‘पहिला लोकगीत खासै चर्चा थिएन । पछिल्लो समय दोहोरी संस्थाहरु धेरै जन्मिए बल्ल लोकगीतको मार्केट बढेको हो’ पूराना गायक एवं संगीतकार रुपेनबाबु थापा भन्छन्,‘हाम्रो पालामा आधुनिक र पप गीतको बोलवाला थियो । त्यतिबेला त लोक गीतमा नाच्नेहरु पनि पाईदैनथे । पहिलाको भन्दा लोक गीतको अवस्था धेरै राम्रो छ ।’ पछिल्लो सयमा लोक लयमा गाईएका गीतहरु बढी चर्चामा छन् ।  नेपालीपन भन्नु नै लोकगीत भएकोले यतिबेला लोक गीत र संगीतको बढी चर्चा भएको बताउँछन् रुपेनबाबु ।

 

करिब विसं २०२५ सालतिर नरबहादुर शेरचन, नारायण फोटोग्राफर आदिको सक्रियतामा पोखराको रोदी होटेलमा ‘सोरठी लोक’ का नामले एउटा समूह बनाइ काम सुरु गर्यो । करिब २०२७–२८ सालतिर भुपु ब्रिटिस आर्मीका क्याप्टेन मिनबहादुर गुरुङ पोखराको बगरमा डाँफे कला मन्दिरको स्थापना गरि नाटक मञ्चन, नेपाली लोकगीत र लोकनृत्यको प्रदर्शन गरि निकै प्रशंसनीय काम गरे । २०५३ सालमा रुपेनबाबु थापा र मेनकाजी गुरुङको सक्रियता र नरबहादुर शेरचनको संरक्षणमा हिमाली साँस्कृतिक परिवारको स्थापना भयो । यसले पनि लोकगीतलाई माथी उठाउन ठूलो सहयोग पुगेको हो । परिवारका कलाकारले पोखरा, स्याङ्जा काठमाडौं लगायतका क्षेत्रमा त आफ्नो कला र गला प्रस्तुत गरे नै नर्वे,हङकङ, जापान, बु्रनाई र सिंगापुरमा समेत आफ्नो कला प्रस्तुत गरि नेपाल र पोखराको शिर ठाडो बनाए । २०३१ सालमा संगीत सम्राट गोपाल योञ्जनको नेत्तृत्वमा पोखरा ‘सोरठीलोक’ नामक साँस्कृतिक संस्थाको स्थापना भयो । जसमा चर्चित नर्तकी बोलमाया गरुङ, शशि राई, मिथिला शर्मा, रानु शाह, शुवर्ण पोखरेलहरुको सहभागीता भयो ।

वरिष्ठ नर्तक बुद्धिबहादुर गुरुङ‘गौरी’, गायक विनोद बानिया, नर्तकी मनसुवा थापा, प्रमिला गुरुङ, वरिष्ठा गायाक कल्याण शेरचन, गायक ज्ञाबहादुर थापा, चर्चित नृत्याङ्गना बोलमाया गुरुङ, कलाकार उषा गुरुङ, बुद्धि गुरुङ‘धम्पु’, वरिष्ठ संगीतकर्मी सर्वज्ञमान प्रधानाङ्ग पोखराकै गौरव हुन् । करिब २० कै दशकतिर करिब चार दशकदेखि साहित्यिक विकासमा लागेको छ पोखरेली युवा साँस्कृतिक परिवार । हिमाली साँस्कृतिक परिवारले पनि साँस्कृतिक क्षेत्रमा कम्ता काम गरेको छैन । नेवारी कला सँस्कृति संरक्षण गर्न लागि परेको छ झिंगु भाय झिंगु सँस्कृति पुचः,राष्ट्रिय लोक दोहोरि प्रतिष्ठान केन्द्र कास्की पोखराको कला सँस्कृतिको जगेर्ना गर्नको लागि परेकै छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %