देब पचभैया
पाल्पा ,बैशाख १२ – जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले तानसेनका १० औषधी पसलमा आज छापा मार्दा अबैध रुपमा गर्भपतन गराएको पाईएको छ । औषधी संचालकहरुले नै गर्भपतन गराएको र गर्भपतनका अबैध औषधी प्रयोग गरेको पाईएको जिल्ला स्वाथ्य कार्यालय पाल्पाका सुचना अधिकृत गणेश श्रेष्ठले जानकारी दिए ।
सानु मेडिकल हल लहरेपिपल र उपकार मेडिकल हल बाट गर्भपतन गराउन प्रयोग गरिएको अबैध औषधी जफत गरिएको छ । दुई स्थानबाट झण्डै ५० जनालाई पुग्ने औषधी जफत गरिएको बताईएको छ ।
जिल्ला स्वाथ्य कार्यालय पाल्पाका निमित्त प्रमुख बिश्वनाथ न्यौपोनको नेतृत्वमा गरिएको
अनुगमनमा पाल्पा मेडिको क्लिनिक लहरेपिपल दर्ता बिनै चलेको, सफल मेडिकल हल र सुरज मेडिकलहल अर्काको नाउमा संचालन भएको, संगम मेडिकल बडिज्ञानटोलमा मापडण्ड बिपरित एक्सरे,ल्याब र फिजियो थेरापीको संचालन गरेको पाईएको छ ।
उनीहरुलाई स्वास्थ्य सस्था स्थापना संचालन तथा स्तर उन्नति सम्बन्धी निर्देशिका २०७० अनुसार कारबाही अघि बढाईने जिल्ला स्वाथ्य कार्यालय पाल्पाका निमित्त प्रमुख न्यौपानेले बताए ।
औषधी पसलमै अबैध गर्भपतन हुने र बिना अनुमति स्वाथ्य सेवाहरु संचालन भैरहेको जनगुनासो पछि औषधी पसलहरुमा छापा मारिएको जिल्ला स्वाथ्य कार्यालयले जानकारी दिएको छ ।
