देब पचभैया
पाल्पा, बैशाख १० – भुमीसुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाले आफ्नो मातहतका कार्यालयहरू मालपोत, नापीलगायतका कार्यालयप्रति जनताको धारणा सकारात्मक नरहेको बताएका छन् । उनले अहिले भईरहेका काम कारबाही सुधार गरेर जनताप्रतिको गुनासो सम्बोधन गर्न आफू लागेको उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखा र प्रेस काउन्सिल नेपालले गरेको पत्रकार आचारसंहिता अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले काम छिटो होस् भनेर दिनेले दिने र लिनेले लिने काम आफूले रोकेर छाड्ने प्रतिबद्धता जनाए ।
कृषि, आवास, व्यवसायी, औद्योगिक र वन क्षेत्र तोकेर भुमी वर्गीकरण गर्न सरकार लागेको उल्लेख उनले गरे । जथाभावी जग्गाको प्रयोगले मानव बस्ती र कृषि क्षेत्र अस्तव्यस्त बनेको भन्दै उनले भुमी वर्गीकरणमा सरकारले कार्य गरेर छिट्टै मन्त्रालयका काम चुस्त दुरुस्त बनाउने दावी गरे । कृषि योग्य भूभाग अब सिद्धियो उनले भने हामीले ढिला गरेर कार्य थालेका छौं तैपनि यसले धेरै सुधार गर्छ भन्ने विस्वास छ ।
मन्त्री रानाले लेखापढी कानुन व्यवसायीको आचारसंहिता बनेर कार्यान्वयन गर्न मन्त्रालय तयार रहेको जानकारी दिनुभयो । योजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा सिसि क्यामेरा जडान गरेर, ग्राहकको चाप भएका स्थानमा शाखा विस्तार गरेर कामको सुरुवात हुने जानकारी दिनुभयो । यसले मन्त्रालयका विषयमा आएको गुनासा समाधान हुने उनले दावी गरे ।
उहाँले सुकुमवासी समस्या समाधान जग्गा बाँडेर नहुने भन्दै अन्तिम पटक दुई वर्ष अबधि दिएर सुकुमबासी समस्या समाधान आयोग बनाउन सरकार लागेको जानकारी दिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्हरु चन्द्र किशोर झा, माधब शर्मा,ब्याब्सन नेपालका केन्द्रिय सदस्य खेम सारु, तानसेन नगरपालिकाका कार्यकारी अधिकृत निरन भटराई, पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष राजु मर्हजन, राष्ट्रिय जनमुक्ति पार्टीका टोप अस्लामी, नेकपा माओबादीका पार्बती बिक, एमाले पाल्पाका उपाध्यक्ष देबी बस्याल, प्रमुख जिल्ला अधिकारी शिबराज जोसी, पत्रकार महासंघ पाल्पाका पुर्ब अध्यक्ष भगवान भण्डारी, बरिष्ठ पत्रकार मेघराज शर्मा लगाएतले बोलेका थिए ।
पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष टेक नारायण भट्राईले स्वागत र सचिब किरण कौषलले संचालन गरेका थिए ।
