गुल्मीमा नेपालमै पहिलो कफी अनुसन्धान कार्यक्रम संचालन

Read Time:4 Minute, 47 Second

देब पचभैया

गुल्मी, बैशाख ४ – कफी खेती सुरुवात भएको ७७ बर्ष पछि जिल्लामा नेपालमै पहिलो पटक कफी अनुसन्धान कार्यक्रम शुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत बिहिबार  पहिलो पटक जिल्लाको बलेटक्सार गाविस  अन्र्तगत भण्डारीडाँडामा मुख्य सचिव लिलामणी पौडेलले कफी अनुसन्धान कार्यक्रमको उद्घाटन गरे ।

कफी खेतीको सुरुवात भएको लामो समयपछि सरकारी तबरबाट अनुसन्धानका लागि कार्यक्रम सुरु भएपछि गुल्मीका कफी किसानहरुपनि निकै खुसी भएका छन् । कार्यक्रमको उद्घाटन गर्दै पौडेलले सरकारी कार्यक्रमलाई आफूहरुकै जस्तो गरेर सघाउन कृषकहरुलाई आग्रह गरे ।

‘अबको एकदुई बर्षमै यहाँ कृषिका अनुसन्धानकर्ताहरु र बिद्यार्थीहरुलाई हरियाली कफी बगैचामा काम गरेको देख्न पाउँ’ उहाँले किसानसँग अपेक्षा प्रकट गर्नुभयो ‘सरकारी कार्यक्रम भनेर असहयोगको वातावरण सिर्जना नगर्नुहोला ।’ बलेटक्सारको १ सय रोपनी क्षेत्रफलमा उक्त कार्यक्रम सुरु भएको हो । साथै उहाँले उक्त क्षेत्रमा केहि जग्गा सुकुम्बासीको नाममा आफ्नो बनाएका ब्यक्तिहरुको दुषित दर्ता खारेज गराउन समेत सम्वन्धित कार्यालयका अधिकृतलाई निर्देशन दिए ।

सरकारले गुल्मीबाट कफी खेतीको सुरुवात भएको कुरालाई दृष्टिगत गर्दै यहाँ कृषि अनुसन्धान कार्यक्रम सुरुवात गरेपछि अब देशभरको कफीको अनुसन्धान गुल्मीबाट हुने छ । देशका सम्पूर्ण जिल्लामा भएको कफीको गुणस्तर तथा उत्पादनका लागि पायक पर्ने नपर्ने बिषयमा पनि कृषि अनुसन्धा कार्यक्रमले सिफारिस गर्नुपर्ने प्राबधान हुने मुख्य सचिव पौडेलले बताए । जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीका अनुसार सुरुमा भौतीक संरचना तथा सिँचाईको लागि नार्कले यो कार्यक्रम डेढ करोडको लागानीबाट सुरुवात गर्ने भएको छ ।

पहिलो बर्षमा कार्यालय संचालनका लागि भवनहरुको समेत निर्माण हुने नार्कले जनाएको छ । नार्कका कार्यकारी निर्देशक दिलबहादुर गुरुङले मुख्य सचिवको निर्देशन अनुसार एकदमै सस्तोमा स्थानीय स्रोत र साधनको प्रयोग गरेर भौतिक संरचनाहरु बनाउने पनि जानकारी दिए । जिल्लाका ३२ वटा गाविसमा अहिले कफी खेती हुन्छ भने जिल्लामा १६ सय ८० जना कफी  किसान छन् । सोही कार्यक्रम उद्घाटनको अवसरमा मुख्य सचिव पौडेल सहितका अतिथिले भण्डारीडाँडामा कफी रोपेका थिए भने स्थानीयले कफीको दानाबाट बनाएको माला लगाईदिएर सम्मान गरेका थिए ।

कार्यक्रममा पुर्व संसद कमल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, नेपाली काँग्रेसका भुवन श्रेष्ठ, एकीकृत नेकपा माओवादीका अशोक थापा, राप्रपाका भरतबहादुर चन्द, राप्रपा नेपालका ठाकुरप्रसाद पाण्डे, अखण्ड नेपालका नेत्र बस्नेत, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, जिल्ला कफी सहकारी संघका अध्यक्ष निलकण्ठ गौतम, कृषि क्षेत्रीय निर्देशनालय, पोखराका देबदत्त खराल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नार्कका कार्यकारी निर्देशक डा. डिलबहादुर गुरुङ्गको अध्यक्षामा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %