देब पचभैया
पाल्पा,बैशाख ३ – लायन्स लाकौल आँखा अस्पताल, पाल्पाले सेवा बढाएको छ ।
बुधबारदेखि ‘आँखा बा’ शल्यक्रिया कार्यक्रमको थालनी गरेर अस्पतालले सेवा बढाएको हो ।
नेत्र ज्योति संघ पाल्पाका अध्यक्ष चकोरमान शाक्यको अध्यक्षतामा चलेको कार्यक्रमका प्रमुख अतिथि केद्रिय अध्यक्ष तीर्थप्रसाद मीश्रले नेत्रज्योति संघले देशको ९० प्रतिशत आँखा उपचारको काम गरेको बताए ।
उनले नेत्रज्योति संघ पाल्पाले अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सेवा विस्तारलाई थप प्रभावकारी बनाउन स्थानीय समाजसेवीहरूको सहयोग आवश्यक पर्नेमा जोड दिए । नेत्रज्योति संघले राम्रो काम गरेकोले आँखाको क्षेत्रमा दिइने दश करोड राशी रहेको विश्वको ठूलो पुरस्कार पाएको मीश्रले बताए । ‘
समाजका महिलाहरूमा आँखा रोगी धेरै भएको तथ्याङ्क भेटिएपनि उपचारमा भने पुरुषहरु धेरै रहेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै पाल्पा लायन्स आँखा अस्पतालका व्यवस्थापक हिरालाल धामीले देशभर रहेका १४ उपचार केन्द्र मध्ये पाल्पा नमूना बन्दै गएको बताए । उहाँले संघले सेवासँगै जनचेतनाका कार्यक्रम गाउँ–गाउँ सम्म लगेको बताए। गतवर्ष ७० प्रतिशत लक्ष्य हासिल गरेपनि जनशक्ति र साधनको अभावले पूरा लक्ष्यमा पुग्न नसिकएको उनको भनाई छ । धामीले आगामी वर्षदेखि कानको विरामीहरूलाई उपचार सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए ।
अस्पतालले विहान ७ बजेदेखि ९ बजेसम्म प्रभातकालीन सेवा, अस्पतालबाट दिवाकालिन सेवा र विशालबजारमा रहेको भवनबाट सन्ध्याकालिन सेवा उपलब्ध गराएको छ । आँखाको स्वास्थ्यलाई कम महत्व दिने र गाउँमा न्युन आर्थिक आय हुनेहरू अस्पतालमा बढी आउने अस्पतालले जनाएको छ । १४ कर्मचारी रहेको अस्पतालले न्यून आर्थिक भएका र विकटका नागरिकलाई निशुल्क सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छ ।
उद्घाटन कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी निरञ्जन ज्ञवाली, प्रेस युनियन पाल्पाका अध्यक्ष भरत शर्माले संघको काम प्रसंसनिय रहेको भन्दै सर्वसुलभ सेवामा लाग्न शुभकामना दिए । कार्यक्रममा स्वागत गर्दै नेत्रज्योति संघ पाल्पाका उपाध्यक्ष बुद्धिप्रसाद शर्माले नेपाल सरकारको सहयोग प्राप्त नभएको अवस्थामा पनि सेवा वृद्धि गर्दै लगेकोले सरकारी सहयोग बढ्दै गएमा थप सेवा विस्तार गर्न सजिलो हुने बताए । कार्यक्रम संघका सचिव नारायण प्रसाद शर्माको सञ्चालनमा चलेको थियो ।
