विरगंजको विजयी शुरुवात
मनोज घर्तीमगर
पोखरा २६, चैत – नेपाल क्रिकेट संघको आयोजना तथा क्षेत्र नम्बर ८ पोखराको संयोजनमा पोखरामा बुधबारदेखि पेप्सि स्ट्याण्डर्ड एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा क्षेत्र नम्बर २ विरगंजले क्षेत्र नम्बर ६ बैतडीलाई ३४ रनले पराजित गरेको छ ।
टस जितेर व्याटिङ्ग गरेको विरगंजले ४५.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ३३ रनको योगफल तयार पारेको थियो । विरगंजको तर्फबाछ सुमित श्रेष्ठले ९ चौका र १ छक्का प्रहार गर्दै ६९ रन तथा सुरज कुर्मीले ५७ रन बनाएका थिए । बैतडीको बलिङ्गमा सन्तोष भट्ट, बसन्त खत्रि र महेन्द्र चन्दले क्रमश दुई दुई विकेट लिए ।
जितका लागि २ सय ३४ रनको लक्ष्य पछ्याएको बैतडी ४८.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ९९ रनमै समेटियो । बैतडीको तर्फबाट प्रेम तामाङ्ग र दिलिपनाथले समान ३८ रन बनाए भने बसन्त खत्रिले २१ रन जोडे । विरगंजको बलिङ्गमा रामनरेश गिरीले ५ तथा अरिफ शेखले २ विकेट लिए । जितसंगै विरगंजले अंक तालिकामा २ अंक जोड्यो । प्रतियोगिता अन्तर्गत विहिबार क्षेत्र नम्बर ८ पोखरा र बैतडिविच प्रतिस्पर्धा हुने बताइएको छ ।
यसअघि शसस्त्र प्रहरीबल मुक्तिनाथ बाहिनीका बाहिनीपति डिआइजी नारायणबाबु थापाले प्रतियोगिताका मुख्य एम्पायर रामकैलाश यादवलाई बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको समुह ए तर्फको खेल पोखरामा खेलाइएको हो भने वि तर्फको खेल काठमाण्डौमा हुनेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले आगामी अप्रिल २९ तारिखदेखि मलेशियामा हुने एसीसि प्रिमियरलिग क्रिकेट प्रतियोगितामा राष्ट्रको प्रतिनिधीत्व गर्नेछन् ।
