देब पचभैया
पाल्पा, चैत्र २६ – पाल्पामा घट्ने दैवि तथा प्राकृतिक प्रकोपको व्यबस्थापन गर्न जिल्लामा आपतकालिन कार्य संचालन केन्द्र शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले पाल्पा दरवारमा कार्यालय संचालनमा ल्याएको हो ।
केन्द्रमा २४ घण्टा काममा खटिने कर्मचारीहरुको व्यबस्था गरिएको छ । जिल्लामा हुने प्रकारका आपत विपतका घटनाहरु कार्यालयमा जानकारी भएपछि कार्यालयले तत्कालै उद्धार टोली खटाउने व्यबस्था गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, रेडक्रस, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयमा आएका सुचनाहरु पहिलो चरणमा केन्द्रलाई जानकारी गराउने, र केन्द्रको निर्देशन अनुसार उद्धार कार्यमा जाने एकद्धार सुचना प्रणालीको विकास गरिएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।
आधुनिक संचारका साधन मोवाईल, टेलिफोन, ईमेल, ईन्टरनेटका साधनहरु अवरुद्ध हुदा समेत देश व्यापि रुपमा संचार गर्न सकिने गरी दैवि प्रकोप संचार उपकरणको जडान गरिएको छ । विपद व्यस्थापनमा खटिएका टोलिहरुले लिने संचारसेटले केन्द्रमा जानकारी गराउने, सदरमुकाम आएको जानकारी तत्काल केन्द्रमा पठाउने व्यबस्था मिलाईएको छ । आपतकालिन केन्द्रको शुरुवात कार्यक्रममा बोल्दै गृहमन्त्रालका प्रतिनिधी कृष्ण प्रसाद ढकालले मन्त्रालयले हाल ५ विकास क्षेत्र र २७ जिल्लामा नमुनाको रुपमा आपतकालिन केन्द्र संचालनमा ल्याएको जानकारी दिए।
