कस्केली तमुहरुले ट्होटें धुमधामका साथ मनाए

Read Time:6 Minute, 49 Second

मनोज घर्तीमगर

पोखरा, २५ चैत – चैत्र महिनाको अन्तिम मंगलवार आज तमु जातिको साँस्कृतिक पर्व ट्होटें, कस्केली तमुहरुले धुमधामका साथ मनाए ।

तमु धिं नेपालको आयोजनामा पोखरामा भएको ट्होटे कार्यक्रममा फूलवारी तमु समाज सर्वोत्कृष्ठतालाई निरन्तरता दिएको छ । ट्होटें र्यालीमा आयोजित झाँकी, भेषभुषा, बाजागाजा, सहभागीता लगायतको आधारमा फूलवारी तमु समाज निरन्तर सर्वोत्कृष्ठ हुदै ट्होटें रनिङ शिल्ड, ४ हजार रुपैया र प्रमाणपत्रबाट पुरस्कृत भएको हो। यसरी नै भेषभुषामा भिमकाली पाटन तमु समाज, बाजागाजामा बाँझापाटन तमु समाज, झाँकीमा कोल्माबहाकोट तमु समाज, सहभागितामा बे्रज मेश्रों घान्द्रुक तमु समाज उत्कृष्ठ र लोपोन्मुख घाँटु प्रस्तुति सहित सहभागिता रहेको आँधीखोला तमु समाजलाई विशेष सम्मान गरेको गर्दै नगद र प्रमाणपत्रले पुरस्कृत गरेको छ । यसैगरी बगर तमु समाज, हिमाली गुरुङ परिवार, चिउली पार्चे तमु समाज, तमु सहयोग समिति पार्दी, भुलभुला तमु समाज, अर्घौ तमु समाज, हल्जेभाई तमु समाज र खिलाङ तमु समाज सान्त्वना हुदै प्रमुख अतिथि इञ्जिनियर लेखबहादुर तमुले पुरस्कृत गरे ।

तमु धिं नेपालका सहसचिव अधिवक्ता जुनाकुमारी तमुको संयोजकत्वमा गठित मुल्यांकन समितिले उत्कृष्ट समाजको नाम घोषणा गरेको हो । पोखरा १७ तमु ह्युला चोक  बिरौटामा प्रकृति र पितृलाई पुजा गर्दै  शुरु भएको ट्होटें र्याली मुस्ताङचोक, एयरपोर्ट, मेयर हर्क चोक, नागढुंगा, लखनचोक, नयाँ बजार हुदै तमु धिं नेपालमा ट्होटें खेली खेतीको किनारमा विधिवत सेलाइएको थियो भने तमु धिं नेपालमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि ई.लेखबहादुर तमु नयाँ बन्ने संविधानमा तमु जातिको पहिचान सुनिश्चित हुनुपर्ने बताउनुभयो । तमु धिं नेपालका वरिष्ठ सल्लाहकारका सन्तबहादुर तमुले नसा समस्याका कारण उपचाररत तमु धिं नेपालका अध्यक्ष कर्म तमुको शुभकामना पढेर सुनाउनु भएको थियो भने ट्होटेंको महत्व र स्वर्गीय मेजर बीरसिंह गुरुङको योगदानको चर्चा गर्नुहुदै पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई मेजर बीरसिंह गुरुङ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल बनाउनुपर्नेमा जोड दिए । तमु धिं नेपालका कार्यवाहक अध्यक्ष कर्णेल रामकाजी तमुको अध्यक्षतामा भएको अर्का सल्लाहकार वरिष्ठ अधिवक्ता कृष्णबहादुर तमु, तमु धिं नेपालका कार्यसमिति सदस्य एवं फोनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु, ट्होटें संयोजक रुद्रबहादुर तमु, महासचिव रुद्रकुमारी(मैना) तमु, सचिव गिरीप्रसाद तमु लगायतले तमु जातिको मौलिकताको संरक्षण, नयाँ बन्ने संविधानमा विगतदेखि विभेदमा पारिएकालाई समान अधिकार लगायतका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।   कार्यक्रममा गण्डकी तारा ओम तमु र तारा श्रीसले गीत, मुस्कान तमुले नृत्य, आँधी खोला तमु समाजका कलाकारले घाँटु र ट्होटें झाकीहरु प्रस्तुत गरेका थिए । यसअघि कार्यक्रमको उद्घाटन प्रमुख अतिथि र्इं. तमुले दीप प्रज्वलन र अतिथिहरुले धुप हालेर गरेका थिए ।

कार्यक्रममा लागि तमु समाज युके आमा समुहका अध्यक्ष माया तमुले धम्पुस स्प्रिङ खानेपानी सौजन्य गर्नुभएको थियो । कार्यक्रम तमु धिं नेपालका क्षेत्रीय समाज, लगायत अन्य तमु समाजहरु, आदिवासी जनजातिका समाजहरु लगायत विभिन्न संघ संस्थाको संस्थागत सहभागीता रहेको थियो ।

कार्यक्रममा सहयोगदाता, कलाकार, अतिथि लगायतलाई मायाको चिनो वितरण गरिएको थियो ।

यसरी नै लेखनाथ स्थित ङ्योए तमु धिंले लेखनाथमा ट्होटें मनाएको छ । तालचोकबाट शुरु भएको ट्होटें र्याली भण्डारढिकस्थित ङ्योए तमु धिंको परिसरमा पुगी कार्यक्रममा परिणत भएको थियो ।

ङ्योए तमु धिंका कार्यवाहक अध्यक्ष क्याप्टेन मेकबहादुर तमुको अध्यक्षता र गणेशबहादुर तमुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झाँकीमा रुपाताल तमु समाज, भेषभुषामा सैनिक बस्ती ग्रुप नं. १ र लालुपाते तमु समाज, सहभागीतामा भण्डारढिक खल्याण तमु समाज उत्कृष्ठ हुदै पुरस्कृत भए ।

कार्यक्रममा ङ्योए तमु धिंका द्धितिय उपाध्यक्ष एवं लेखनाथका पुर्व उपमेयर गोपालमान तमु, ङ्योए तमु धिंलका पुर्व उपाध्यक्ष चेतबहादुर तमु, क्याप्टेन धनबहादुर तमु, बुद्धिकुमारी तमु, महासचिव मनबहादुर तमु लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैगरी बाटुलेचौरमा रहेको बाटुलेचौर तमु समाजले ट्होटें मनाएको छ । समाजका सदस्यको घर घरमा गएर पुजाआजा गरिएको थियो भने समाजका अध्यक्ष रितबहादुर तमुको अध्यक्षतामा भएको समापन कार्यक्रममा समाजका अग्निपीडित समरबहादुर तमुलाई समाजको तर्फबाट कोषाध्यक्ष मिनबहादुर तमुले ३० हजार रुपैया सहयोग प्रदान गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %