देब पचभैया
पाल्पा, चैत २२ – पाल्पा, नेपाल परिवार नियोजन संघ पाल्पाको तेह्रौं वार्षिक साधारणसभा संघको कार्यालयमा शनिबार सम्पन्न भएको छ ।
संघका जिल्ला अध्यक्ष प्रेमनाथ बस्यालको अध्यक्षता र केन्द्रिय समिति कोषाध्यक्ष धिरेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका जिल्ला सचिव चिरन्जीवि शर्मा ढुंगानाले बार्षिक प्रगति विवरण र कोषाध्यक्ष राजेश्वर उदयले २०१३ मा रहेको कूल (१,२४,६२,२५३) एक करोड चौविस लाख बैसठ्ठी हजार २ सय त्रीपन्न रूपैयाको आम्दानी खर्चको वार्षिक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि धिरेन्द्र प्रसाद श्रेष्ठले विगतका कार्यक्रमहरू प्रभावकारी रहेको भन्दै आगामी कार्यकालमा अझ व्यवस्थित ढंगले कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले परिवार व्यवस्थापन र सुशासन केन्द्रको मुख्य कार्यक्रम रहेकोले यसलाई प्रभावकारी बनाउँदै जिल्लाको विकासमा पोलिटेक्नीकको कार्यक्रम ल्याउने अवधारणा रहेको बताए ।
कार्यक्रममा युनाइटेड मिशन अस्पतालका कार्यकारी निर्देशक रचेल कारक, बुद्धिजीवि बुद्धिप्रसाद शर्मा, पत्रकार महासंघका कोषाध्यक्ष मिलन विश्वकर्मा लगायतले संस्थाको कार्यक्रमप्रति सराहना व्यक्त गर्दै शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा संघका सचिव चिरन्जीवि शर्मा ढुंगानाको सञ्चालन, चित्रवलिराम सुवालको स्वागत र निलिमी राजभण्डारीले धन्यवाद ज्ञापन गरेका थिए।
