देब पचभैया
पाल्पा, चैत २२ गते – सिंचाई मन्त्री एनपि साउदले जसरी पनि एक वर्षभित्र नयाँ संविधान जारी गर्नुपर्ने बताएका छन् ।
संविधान एक वर्षभित्र ल्याउन थुप्रै जटिलताहरु रहेपनि सबै दलको सहमतिमा जारी गर्नुको बिकल्प नभएको उनको तर्क छ । नेपाल प्रेस युनियन पाल्पाको सातौं जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री साउदले निर्वाचनको बहिस्कारमा रहेको दल लगाएत अरु असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याएर संविधान ल्याउनुपर्ने बताए । उहाँले समयमै संविधान पाउने जनताको नैसर्गिक अधिकार भएको भन्दै जसरी पनि सहमति गरेर संविधान ल्याउनुपर्नेमा जोड दिए । एक वर्षभित्र संविधान ल्याउने सरकारको अर्जुनदृष्टि हो उनले भने हामी सबै दलहरुको साझा अभिमत बनाएरै समयमै संविधान दिने कार्यक्रम बनाएर अगाडि बढेका छौं ।
निर्वाचन नहुँदा कर्मचारी र सरकार जवाफदेही नभएको बताउँदै उनले सरकारलाई जवाफदेही बनाउन स्थानीय निकायको निर्वाचन गर्न दवाव दिनुपर्ने उल्लेख गरे । उनले सरकार सासक होइन भन्दै जनताका सेवक बन्न र जनता जनार्दन बनाउने संविधान लेख्न आफूहरु लागि परेको उनको भनाई छ ।
कार्यक्रममा युनियनका महासचिव शिव लम्सालले पत्रकार महासंघ सबैको साझा संगठन बन्नुपर्ने बताए । उनले महासंघमा समावेशी नीति ल्याउन युनियनले सक्दो पहल गर्ने र श्रमजीवि पत्रकारहरूको हितमा आवाज उठाउने प्रतिबद्धता जनाए । उनले कांग्रेस नेतृत्वको सरकार रहेका बेलामा पनि श्रमजीवि ऐन कार्यान्वयन नहुनु दुःखद् रहेको बताए। नेपालमा अब केही व्यक्त र तिनका छोराछोरीले पत्रकारीता संचालन गर्ने दिन गएको उनको टिप्पणी थियो । अधिवेशनमा युनियनका केन्द्रीय सदस्य विक्रम खड्का र रामराज पोखरेलले युनियनले आम श्रमजीवि पत्रकारहरुको पक्षमा न्यायपूर्ण आन्दोलन संचलन गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले लोकतन्त्र र पत्रकारीता एक अर्काको पूरक रहेको बताउँदै पत्रकारीता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको विचार राखेका थिए ।
कार्यक्रममा नेपाल ट्रेड युनियनका पश्चिमाञ्चल सचिव मधुकर काफ्ले, युनियनमा पूर्व सचिव झपेन्द्र गहिरे, नेकपा एमाले पाल्पाका सचिव ओमबहादुर घर्तीमगर, प्रमूख जिल्ला अधिकारी शिवराज जोशीले पत्रकारिता क्षेत्रलाई अझ माथि उठाउन अधिवेशन सफल हुनेमा विस्वास व्यक्त गरे । यस्तै स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेल, तानसेन नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराई, पाल्पा उद्योग वाणिज्य महासंघका अध्यक्ष राजु महर्जन, बरिष्ठ पत्रकार मेघराज शर्माले अधिवेशन सफलताको शुभकामना दिएका थिए । प्रेस चौतारी पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, क्रान्तिकारी पत्रकार संघका कार्यबहाक अध्यक्ष सन्तोष बस्याल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका पश्चिमाञ्चल संयोजक देव पचभैयाले शुभकामना मनतव्य राखेका थिए ।
युनियनका उपाध्यक्ष भरत शर्माको स्वागत मा उद्घाटन सत्र युनियनका सभापति प्रकाश नेपालको अध्यक्षता र सचिव माधव अर्यालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा लेखक पुष्करराज रेग्मीले लेख्नुभएको प्रविणता प्रमाणपत्र तहको शिक्षा शास्त्रलाई आवश्यक पर्ने अनुसन्धान सिद्दान्त पुस्तकको मन्त्री साउदले विमोचन गरे । यसैबीच अधिवेशनका अवसरमा पूर्व पत्रकार भुषणराज लवटले स्थापना गर्नुभएको भगवतीध्वज राजलवट पत्रकारीता पुरस्कार पत्रकार कविराज नेपाललाई प्रदान गरिएको छ । युनियनको अधिवेशनमा स्थापना गरिने परस्कारको राशी तीन हजार रुपियाँ र प्रमाणपत्र रहेको छ ।
