लाहुरेफुल (कबिता)

निश्चल काउचा    

 

 

 

 

 

 

 

 

आदिम बस्तिहरुमा

मुखिया र जिम्वालहरुले उर्दी जारी गरे पछि

पहिलो भालेको डाँकोमा

गल्लावालको अघि लागेर

प्रियसीले दिएको रुमानी रुमालले आशु पुछ्दै

माथि डाडा बाट अन्तिम पल्ट सुसेलेर

पल्टन छिरेका

हाम्रा पुर्खाहरु कहिल्यै फिरेनन  

 

कहिल्यै घाम नअस्ताउने गोराको ईखले

हाम्रा पुर्खाहरु

मलाया , बर्मा , फोकल्याण्डमा किचाघान बनाईए  

 

बदलामा गोराले दियो

वीर गोर्खालीको उपमा

जिते पछि दिएको सलामीले

चन्द्रशमशेर / वीरशमशेरले टट्टीघरमा समेत सुनको जलप लगाए  

 

साल्मेडाँडाको हाम्रा पुर्खाहरुको स्मारिकामा

दुई थोपा आशु चुहाउदै

पुष्पगुच्छा चदाउदै

मलाई सोध्न मन लागेको छ

आखिर लडेर के पायौ त ?  

 

भन्न मन लागेको छ

हाम्रा पुर्खाहरू आखा खोलि हेर त

तिम्रै अगाडी

तिम्री प्रियसी बादलुको गाजल लगाई

माछापुच्छ्रे बनि तिम्रै प्रतीक्षामा छिन  

 

हो

मलाई थाहा छ

हाम्रा पुर्खाहरु

राजीखुशी लाहुरेफुल बनेका होईनन

राजा महाराजाहरुको सलामीको लोभले

बनाईएको थियो  

 

हाम्रा पुर्खाहरुले

छुटने बेलामा सम्झना स्वरुप दिएको

त्यो अन्तिम गलबन्दी

सुनगाभा र लालिगुराससंगै सधै फक्रिरहने छ  

 

अब , यहाँ

लाहुरेफुल फुलाउन छोडे पछि

हाम्रा पुर्खाहरु प्रति

सच्चा श्रद्धाञ्जलि हुनेछ