मनोज घर्तीमगर
पोखरा, ५ चैत – आर्थीक अभावको कारण ब्रेन ट्युमरको अप्रेसन गर्न नसक्दा जिवन मरणको दोसाँझमा रहेका पर्वतका एक बालकको जिवन रक्षाको लागि उनका आफन्तले सबैसँग याचना गरेका छन् । जिल्लाको भँगारा गाविस–६ रोहोटेका ५ वर्षिया सुसन नेपाली लाई बचाई दिनको लागि उनका अविभावकहरुले सबै सँग आग्रह गरेका हुन् ।
बालकका ठुलोबुवा कुमार नेपालीका अनुसार गत फागुन १९ गते घरमै खेलीरहेको अवस्थामा सुसन एक्कासी बेहोस भएपछि उपचारको लागि पर्वत जिल्ला अस्पताल पुर्याईएको थियो । पर्वत अस्पतालमा उपचार गर्न नसकिने बताएपछि पश्चिमाञ्चल शिक्षण अस्पताल पोखरा लगिएको थियो । उक्त अस्पतालमा सम्वन्धीत डाक्टर नभएपछि मनिपाल शिक्षण अस्पतालमा लगि सिटिस्क्यान गरेपछि ब्रेन ट्युमर भएको भन्दै शिक्षण अस्पताल काठमाण्डौमा रिफर गरिएको छ ।
‘शिक्षण अस्पतालले बालकको अप्रेसन गर्नको लागि ६ लाख जम्मा गर्न भनेपछि बालकलाई फर्काएर ल्याउनुको बिकल्प भएन’ बालकका बावु सिताराम नेपालीले भने ‘५० हजार नै लागेपनि खर्च गर्ने हैसियत नभएका हामिहरुले ६ लाख कसरी ल्याउन सकिन्छ ।’ सुसनलाई अहिले आफ्नै घरमा राखिएको छ । डाक्टरको भनाईमा बालकको अप्रेसन जतिसक्दो छिटो गर्नुपर्दछ ।
बालकका बावु सिताराम नेपाली गाउँमै मजदुरी गर्दछन् र उनका श्रीमती सहित एक ७ वर्षिया छोरी र ५ वर्षिया छोरा (सुसान) मात्र छन् । छोरा जन्मीएको २ महिना पछि जन्डीस भयो । बालकका बावु सिताराम भन्छन् ‘दुई वर्ष पछि फेरी निमोनीया भएको कारण उपचार गराउँदाको ऋण अझै तिर्न सकिएको छैन अव ६ लाख रुपैयाँ कसरी आउँछ ।’ सितारामले रुँदै भने,‘धेरै आफन्त तथा नातेदारहरुमा गयौ एक दुई सय संकलन गरेर ५ हजार पनि पुर्याउन सकिएन अव हामिहरुवाट छोरालाई बचाउन सक्ने अवस्था भएन ।’
बालकका जेठो बुवा कुमारका अनुसार सुसानको अप्रेसनको लागि रकम जुटाउन आफुहरु लागि परेको बताउँछन् । कुमार भन्छन् ‘सुसन लाई बचाउनको लागि अभियान नै संचालन गरिएको छ र देश तथा बिदेशमा रहेका दयालू भगवानरुपी दाजुभाई सँग अनुरोध गरिएको छ । बालकका आफन्तले अहिले पर्वत जिल्ला स्थित विभिन्न बैकहरुमा खाता खोली सबै सँग बालकको जिबनको भिख मागिएको छ ।
सुसन बचाउ अभियानका संयोजक समेत रहेका कुमार नेपालीले बिश्व विकास बैक, कुश्मा शाखाको खाता नं ००७०१२०००४६१९६०००००१ मा स्वेच्छिक रकम जम्मा गरि सुसनको जिवन बचाईदिन सम्पुर्ण लाई अनुरोध समेत गरेका छन् । कुमार नेपालीको सम्पर्क नं.९८४७६३१६४४८ हो ।
