देब पचभैया
पाल्पा, फागुन २१ – उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय निकायको निर्वाचन र एक वर्षभित्रै नयाँ संविधान जारी हुने बताए । उनले स्थानीय निकाय लामोसमयदेखि जनप्रतिनिधिविहिन हुंदा जनताको विकासको आवश्यकता र चाहनालाई सम्बोधन गर्न नसकिएको गुनासो आएको बताएका छन् ।
प्रेस युनियन पाल्पाले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नयाँ निर्वाचन सम्पन्न गर्ने गृहकार्य सुरु गरिएको जानकारी दिए ।
विकास निर्माणको रकमसमेत सही सदुपयोग नभएको भन्ने गुनासोलाई जनप्रतिनिधि आइसकेपछि समाधान हुने सिंहको भनाई थियो ।
आफुले मन्त्रालयको तर्फबाट निर्वाचन सम्पन्न गर्न आवश्यक गृह कार्य अगाडि बढाउन निर्देशन दिइसकेको बताउदै स्थानीय निकायको निर्वाचनपछि जनतामैत्री बन्ने विश्वाससमेत व्यक्त गरे । काम लिएर आउने जनताले अनावश्यक दुःख पाउने अवस्थाको अन्त्य हुने बताउदै दे विकास निर्माणमा आएको रकमको सही सदुपयोग भएको छ छैन भन्ने कुरालाईसमेत निगरानी राख्नुपर्नेमा जोड दिए ।
सिंहले प्रजातन्त्रलाई बलियो बनाउन पनि स्थानीय निर्वाचन जरुरी रहेको बताए । उहाले यो सरकारले स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावलीलाई केही परिवर्तन गर्नु पर्ने भए गरेर भएपनि निर्वाचन गर्ने बताए । निर्वाचन अघिको घोषणापत्रमासमेत स्थानीय निकायको निर्वाचन गर्ने भनेकाले पनि कांग्रेसले सबै पार्टीलाई सहमति गराएर निर्वाचन गराउने बताए । मन्त्री सिंहले छिट्टै नै सबै दल मन्त्रीपरिषद्मा सहभागी हुने बताउदै संविधान निर्माण नै भएको बताए । अघिल्लो संविधानसभाले गर्न नसकेका कामलाई अहिले निरन्तरता दिदै संविधान जारी गर्नेतर्फ अघि बढ्ने बताए । विषयगत समितिले ल्याएका दस्तावेज र अवधारणापत्रलाइृ समेट्दै लिखित लोकतान्त्रिक संविधान जारी गर्ने उनले बताए ।
सिंहले सहमतिमा जोड दिएपनि प्रकृयामा ख्याल नगर्दा संविधानसभा असफल भएको बताए । अहिले ६ महिनाभित्रै खाका आउने र नमिलेका विषयलाई मतदान गरेर भएपनि सविधान जारी हुने बताए ।
मन्त्री सिंह गुल्मीमा आयोजित एक कार्यक्रममा सहभागी हुन तानसेन आएका थिए ।
