देब पचभैया
पाल्पा, २० फागुन -मखनटोल टोलविकास संस्था तानसेन पाल्पाले आगामी चैत्र ७ गते सडक खाना महोत्सव गर्ने भएको छ । संस्थाले मंगलबार तानसेनमा पत्रकार सम्मेलन गरी सडक खाना महोत्सव गर्न लागेको जानकारी गराएको हो । गत बर्ष पहिलो पटक तानसेनमा सडक खाना महोत्सव गरेको मखनटोल विकास संस्थाले यस पटक पनि पाल्पाका बिभिन्न जात जातिका लोपन्मुख हुदै गएका खानाका परिकारहरु राखेर महोत्सव गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
तानसेनको हुलाकचोक देखी शितलपाटी चोक सम्म रहने गरी ५० वटा खानाका स्टलहरु राखिने सडक खाना महोत्सवकी संयोजक शान्ती शाक्यले जानकारी दिए ।
सडक खाना महोत्सवमा नेवारी, मगरी, मुस्लिम, गुरुङ्ग, कुमाल, बाहुन क्षेत्री लगायत पाल्पामा बसोबास गर्ने सवै जातजातिहरुका परम्परागत खानाका परिकारको साथै लोपहुदै गएको विभिन्न जातजातिहरुको कला संस्कृति प्रस्तुती रहने मखनटोल विकास संस्थाकी अध्यक्ष रिता कक्षपतिले जानकारि दिए ।
प्रत्येक स्टल बाट पाच सय रुपैया सहयोग लिने र बचत भएको रकम टोल विकास संस्थाको नियमित सरसफाईमा प्रयोग गरिने सचिव गंगा पछाईले बताएका छन् ।
संस्थाले खाना महोत्सवमा १० हजार दर्शकहरु आउने र १० लाखको कारोवार हुने अनुमान गरेको छ । संस्थाकी अध्यक्ष रिता कक्षपतिको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव गंगा पछाईले गरेका थिए ।
कार्यक्रममा तानसेन नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराई, प्रेश स्वतन्त्रता सेनानी मेघराज शर्मा, पत्रकार महासंघका सचिव किरण कौशलले सडक खाना महोत्सवले पाल्पामा आन्तरीक तथा बाह्य पर्यटक भित्राउन ठुलो योगदान पुर्याउने बताउदै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । विदेशी परिकारहरु भन्दा स्थानीय परिकारहरु मात्र खानाको स्टलमा राखी दर्शकहरु लाई बेग्लै स्वाद चखाउन बक्ताहरुले जोड दिएका थिए ।
