गोविन्द घर्ति/देवदह,
१२ फागुन-रुपन्देहीको देवदह खैरेनी देखि केरवानीको ६ नम्वर चोक जाने बाटोको मर्मत संभार नहुँदा स्थानीयवासी जोखिम पुर्ण यात्रा गर्न वाध्य भएका छन् । बाटो भत्केर खाल्डा खुल्डी हुदा समेत स्थानीय निकाय र जिल्ला विकास समिति रुपन्देहीले बाटो मर्मत संभारको लागी कुनै पहल नगर्दा स्थानीयवासीहरु जोखिमपुर्ण यात्रा गर्न वाध्य भएका हुन ।
बाटो भरि खाल्डा खुल्डी परेको र बाटोको चौडाई पनि साँघुरो भएकोले दुवै तर्फबाट आउने जाने सवारी साधनहरुको आवतजावतमा समेत अप्ठयारो परेको सवारी चालकहरुको गुनासो रहेको छ । सरोकारवाला निकायले बाटो मर्मतको लागि चासो नदिएका कारण समस्या थपिदै गएको केरवानी–६ सेमराहाना निवासी शेर बहादुर रानाको भनाई रहेको छ । राना भन्छन“ जान्ने सुन्ने र ठूलाबडालाई कुनै वास्ता छैन, हामी सर्वसाधारण जति चिच्चाए पनि केही हुदैन ।” बाटोमा रहेको खाल्डा खुल्डीका कारण दैनिक साना ठूला सवारी दुर्घटना भईरहेको छ । विशेष गरी साईकल, मोटरसाईकल र स–साना सवारी साधनहरुलाई आवत जावतमा कठिनाई उत्पन्न भएको छ । जसका कारण विरामी तथा सुत्केरी व्याथा लागेका महिलाहरुलाई उपचारका लागि अस्पताल सम्म लैजानका लागि पनि अप्ठ्यारो परेको रानाको भनाई रहेको छ ।
देवदह खैरेनी देखि धकधई हुदै भैरहवा सम्म पुग्न सकिने उक्त सडक खण्डलाई व्यवस्थित गर्न सकिएमा स्थानीयवासीलाई प्रत्यक्ष लाभ हुने देखिन्छ । तर बाटो निर्माणका क्रममा ठेकेदार कम्पनी र ठेक्का दाता वीच कमिसनको चलखेल भएका कारण उक्त सडक गुणस्तरीय बन्न नसकेको स्थानीय समाजसेवी निलकण्ठ पौडेलको आरोप रहेको छ । सो सडकलाई जिल्ला विकास समितिले सडक दस्तुरका लागि ठेक्कामा लगाए पनि बाटो मर्मतका लागि कुनै पहल नगरेको पौडेलको भनाई रहेको छ । पौडेलको भनाइ अनुसार “यो सडक खण्ड मर्मत संभार गर्न स्थानीयवासी आन्दोलनमा उत्रिनु पर्नेमा जोड दिनु पर्छ । पटक पटक सरोकारवाला निकायलाई जानकारी गराउदा समेत वेवास्ता गरेका कारण राज्यलाई दवाव दिन आन्दोलनको विकल्प छैन ।” देवदह धकधई उक्त सडक खण्डको भारवहन क्षमता न्यून भएपनि दशचक्के तथा ठूलाठूला सवारी साधन आवत जावत गरेपछि बाटोको अवस्था विग्रदै गएको हो ।
अहिले सो बाटो सामान्य ढंगले विग्रेको मात्र होइन, जिर्ण नै बनेको छ । बर्षातमा सो बाटो हिलाम्य हुन्छ भने चैत बैषाखमा धुलो उठेर हिड्न ग्राहो हुन्छ । बोटोको जिर्ण अवस्थालाई हेरेर मर्मत संभारका लागि जिल्ला विकास समिति रुपन्देहीलाई जानकारी गराएको केरवानी गाविसका सचिव टुकराज पाण्डे बताउछन । पाण्डे भन्छन “यस बर्षको गाउ परिषद मार्फत ईलाका गोष्ठीमा समेत बाटो निर्माणलाई प्राथमिकतामा राखेर प्रस्तुत गरेका छौं ।” जोखिम पुर्ण बाटोलाई तत्कालै मर्मत संभार गरी व्यवस्थित गर्न नसकिएमा स्थानीय वासीले ठूलो क्षति व्यहोर्नु पर्ने देखिन्छ । त्यसैले सो बाटो तत्काल निर्माणका लागि सरोकारवाला निकाय, सम्वन्धीत गाविस, स्थानीयवासी तथा जिविसले ध्यान दिनु जरुरी भएको छ ।
