बालहित माविलाई राष्ट्रपति रनिङ्शिल्ड

Read Time:8 Minute, 17 Second

देब पचभैया

पाल्पा, २९ माघ-विद्यालयस्तरको खेलकुदमा अब्बल मानिने राष्ट्रपति रनिङ्शिल्डमा बालहित माध्यमिक विद्यालय सहलकोट पहिलो भएको छ । जिल्लास्तरीय राष्ट्रपति रनिङ्शिल्डमा ४८ अंकसहित पहिलो स्थान हासिल गरेको हो । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको रनिङ्शिल्डमा ४६ अंकसहित जनता नमुना उच्च मावि तानसेन दोस्रो र ४३ अंकसहित न्यू होराइजन उच्च मावि तानसेन तेस्रो भएको छ । पहिलो हुने विद्यालयले नगद १५ हजार, दोस्रो हुनेले १२ र तेस्रो हुनेले नौ हजार पाएका छन् । पहिलो हुनेले रनिङ्शिल्डसमेत पाएको छ । प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर रानाले शिल्ड, नगद र प्रमाणपत्र प्रदान गरे ।

रनिङ्शिल्डमा कुल २४ स्वर्ण पदक प्रदान गरिएको छ । १०० मीटर दौडमा छातर्फ दमकडा उमाविका भुपाल थापा, छात्रातर्फ कृष्णादेवी गैंडाकोटकी सुस्मिता भट्टराइले स्वर्ण हात पारिन् । यस्तै, २०० मीटर दौडमा छात्रतर्फ न्यूहोराइजन तानसेनका सन्तोष राना र छात्रातर्फ नारायणमावि ठिमुरेकी अमृता बगालेले स्वर्ण पदक जितिन् । ४०० मीटर दौडमा छात्रतर्फ पप नउमावि तानसेनका आषिस सेन्चुरी र छात्रातर्फ शारदा उमावि मदनपोखराकी ललिता दर्लामीले हात पारे । ८०० मीटर दौडमा भने छात्रातर्फ शारदाकै बालकुमारी कुँवर र छात्रतर्फ कर्णधार मावि रुप्सेका मोहन सारुले स्वर्ण जिते ।

ज्याभलिन थ्रोमा पप नमुना उमाविका बबिन रावलले र छात्रातर्फ दमकडा उमाविकी सुनिता बस्यालले स्वर्ण हात पार्न सफल भए । सटपुटमा जनता उमावि तानसेनका सुरेन्द्र सोनी र न्यूहोराइजनकी ममता सारुले स्वर्ण जिते । लङ्गजम्पमा छात्रतर्फ जनताकै नविन घिमिरे र छात्रातर्फ दिव्यज्योति उमावि कसेनीकी लालमाया घर्तीले स्वर्ण जितिन् ।

हाईजम्पमा भने छात्रतर्फ न्यूहोराइजनका विपिन सुनार र छात्रामा दिव्यज्योतिकी भावना श्रेष्ठले स्वर्ण पदक हात पारे । भलिवलमा छात्रतर्फ सरस्वती मावि ज्यामिरेले र छात्रातर्फ बालहित मावि सहलकोटले स्वर्ण जिते । छात्र तेक्वान्दोमा ४५ केजी समूहमा रिभरभ्यालीका विरास चिदी, ४८ केजी समूहमा सोही विद्यालयकै कुमार दर्लामी र ५१ केजीमा पोलस्टार वोर्डिङ्गका प्रवेश कार्कीले स्वर्ण जिते । यस्तै, छात्रातर्फ ४२ केजी समूहमा दिव्यज्योतिकी पुष्पा घर्तीमगर, ४६ केजीमा रिभरभ्यालीकी गंगा थापा र ५० केजी तौल समूहमा सरस्वती मावि सुन्दरगाँउकी कामना गाहाले स्वर्ण पदक हात पारे । तेक्वान्दोमा सरस्वती माविका सुनिल विक र कामना गाहा उत्कृष्ट भए ।

१०० मीटर दौडतर्फ छात्रतर्फ न्यूहोराइजनका धनबहादुर थापा र छात्रातर्फ दिव्य ज्योतिका लालुमाया घर्तीमगरले रजत पदक जिते । २०० मीटर दौडमा वेथलका प्रेमबहादुर खाम्चा र छात्रातर्फ दिव्यज्योतिकी माया नेपालीले रजत पदक हात पारेका छन् । ४०० मीटर दौडमा नारायण माविका कृष्ण बगाले र कृष्णादेवी गाँडाकोटकी सुस्मिता भट्टराइले रजत जितिन् । ८०० मीटरमा भने न्यू होराइजनका बमबहादुर बारघरेमगर र पप नमुना उमाविकी इन्दिरा घिमिरेले रजत जिते । ज्याभलिनथ्रोमा भने जनता नमुना उमाविका नविन घिमिरे र पप नमुनाकी अम्बिका सारुले पदक जितेका छन् । लङ्गजम्पतर्फ वेथलका भुपाल थापा र दमकडाकी संगीता थापाले रजत जित्न सफल भए । लङ्गजम्पमा जनता उमाविका अस्विन पयिार र पपकै इसा बुचाले रजत हात पारे ।

सटपुटमा महेन्दबोधिका राजु ओली र बालहित माविका बृहस्पति खाँडले रजत जिते । भलिवलमा छात्रतर्फ सहलकोटको जनविकास र छात्रातर्फ रुप्सेको कर्णधारले रजत हात पारे । उता, तेक्वान्दामा छात्रतर्फ ४५ केजी समूहमा सरस्वती माविका रम्जन रानाभाट, ४८ केजी समूहमा पोलस्टारका सिद्दिविनायक पाण्डेय र ५१ केजीमा सरस्वती माविका सुनिल विकले हात पारे । यस्तै, छात्रातर्फ ४२ केजी समूहमा माउण्ट भ्यालीकी मीरा दर्लामी, ४६ केजीमा सेन्ट कपितानियोकी आकृति पाण्डेय र ५० केजीमा माउण्ट भ्यालीकै सुस्मा रानाले रजत जिते । १०० मीटर दौडमा छात्रतर्फ पपका बविन रावल र छात्रातर्फ दमकडाकी आशा दर्लामीले काँस्य पदक हात पारेका छन् । २०० मीटरमा दिव्यज्योतिका शंकर कुमाल र दमकडाकी संगीता थापा साथै रिभरभ्यालीकी गरिमा अर्यालले काँस्य जिते । ४०० मीटरमा विष्ण उमाविका कृष्ण गैरे र देववाणी साधारण तथा संस्कृत माविकी भावना न्यौपानेले काँस्य जित्न सफल भएका छन् । ८०० मीटरमा भने प्रिपेरोटोरीका पुरन सिंजाली र न्यूहोराइजनकी पुजा पन्तले काँस्य जिते ।

ज्याभलिन थ्रोमा दमकडाका केशव राइ र जनता उमाविकी ममता गुरुङ्ले पदक जिते । सटपुटमा न्यू होराइजनका धीरज खाँड र जनता उमाविकी झरना सारुले काँस्य जिते । लङ्गजम्पमा न्यू होराइजनका विपिन सुनार र बालहित माविकी लक्ष्मी थापाले काँस्य हात पारे । हाइजम्पमा भने दर्लमडाँडाका देववहादुर खाम्चा र बालहित माविकी बृहस्पति खाँडले काँस्य जिते । भलिवलमा वेदवेदाङ्ग साधारण तथा संस्कृति मावि र जनता उमावि तानसेनले काँस्य जिते । तानसनेमा भएको रनिङ्शिल्डमा पाल्पा जिल्लाका २२ माध्यमिक विद्यालयले भाग लिएका थिए । तीनवटै क्षेत्रमा छात्रछात्रा भलिवल प्रतियोगिता गरिएको थियो । त्यसबाट छात्राछात्रा बिजेता र उपबिजेता जिल्लामा प्रतिस्पर्धाका लागि आएका थिए । जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष भुवन जीसीका अनुसार रनिङ्शिल्डमा सहभागी हुन पाउँदा विद्यार्थीमा उत्साहित देखिएका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %