मृतक ११ जनाको सनाखत
पाल्पा, माघ २३ पाल्पामा भएको यात्रु बाहक बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । पोखरा बाट भैरहवाको लागी छुटेको लु १ ख ४९२४ नम्बरको बस पाल्पाको चिदिपानी २ भालुखोला भन्ने स्थानमा आज बिहान सवा २ बजे भएको दुर्घटनामा परि ज्यान गुमाउने मध्ये ११ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार सनाखत हुनेहरुमा गाडी धनी भिमगिठे बुर्तिबाङ्ग बाग्लुङ्गका २८ बर्षिय मोहन केसी, चालक पाल्पा मुझुङ्गका ३३ बर्षिय रोमन सिंग सारु , गुल्मी सिमिचौर ६ का डिङ्ग बहादुर बस्नेत, भरतपोखरी १ कास्कीका बुद्धि बहादुर बिक, मोरभाङ्ग ९ रुकुमका ३८ बर्षिय राज बहादुर गुरुङ्ग , पर्बत ठुलीपोखरी बाबुराम आचार्य, पर्बतकै फौला लाकुरी का ठाकुर सुनार, गुल्मी मेहलपोखरीका गिरिराज भट्राई, मोरङ्ग बिराटनगरका ४९ बर्षिय गोपाल ढकाल र बर्दिया मंगरागढी ९ का २१ बर्षका बिराट सिग ठकुरी र मगरागढीकै राम वली रहेका छन् ।
बाकी ३ जनाको सनाखत भएको छैन । मृतक मध्ये १२ जनाको घटनास्थलमै र २ जनाको उपचार गर्न अस्पताल लाने क्रममा बाटोमै ज्यान गएको हो । ७ जना घाईतेकहरुको पाल्पा स्थित युनाईटेड मिशन अस्पताल तानसेन र लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक शिबकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । घाईते मध्ये स्याङ्गजा चिन्नेबास ८ का ३७ बर्षिय डोल बहादुर राना, बर्दीया मंगलागढी ९ का ३९ बर्षिया कमला सिंग ठकुरी, बाग्लुङ्ग भकुण्डेका २२ बर्षिय सुर्य खत्री र रुकुम मरवाङ्ग ८ का ४३ बर्षिय नर बहादुर बुढामगरको युनाईटेड मिसनअस्पताल तानसेनमा र अरु ३ घाईतेको लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको छ । प्रभासमा उपचार हुनेहरुमा राममन्दिर बुटवलका २४ बर्षिय प्रदिप केशरी, बर्दिया मगरागढी ९ की २८ बर्षिया चन्दा वली र पुतलीबजार २ का १९ बर्षिय दिपक कुवर को लुम्बिनि मेडिकल कलेजमा उपचार भैरहेको छ ।
सिद्धार्थ राजमार्गको आर्यभञ्याङ्ग देखि झण्डै ३ किलोमिटरपर भालुखोला भन्ने स्थानबाट बस झण्डै ३ सय मिटर तल खसेको हो । केही उकालो तर सजिलै बाटोमा छेउनिरको ३ वटा प्याराफिट भत्काएर भिरमुनि बस खसेको छ ।
दुर्घटनापछि घाईते भएर बाटोमै चिच्याईरहेकी पोखरा न्युरोडकी चन्दा वलीलाई भारतिय नम्बरको ट्कले उद्धार गरेर स्थानियलाई खबर गरेका थिए । त्यसपछि राम्दीघाटमा मलामी गएका स्थानिय आर्यभञ्याङ्गबासीहरुले घाईतेहरुको उद्धार गरेका थिए । उनीहरुकै खबर पछि जिल्ला प्रहरी कार्यालय पाल्पा, राम्दी प्रहरी चौकी, तानसेन स्थित नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले आज बिहान ९ बजे सम्म घाईतेको खोजी र मृतकको लाश घटनास्थल बाट सडकमा ल्याएका थिए । सडक बाट बस खसेकोस्थानमा पुग्न भिर बाटो भएकाले डोरीको सहायतामा २५ मिनेट तल जानुपर्ने भएकाले पनि घाइतेको उद्धार गर्न कठिन भएको थियो ।
उद्धारकर्मीहरुले मोबाइल र हातेलाईटको सहयोगमा घाईतेको उद्धार गरेका थिए । मृतको शब लाई अहिले जिल्ला अस्पताल तानसेनमा ल्याईएको छ । गएको बर्षको फागुन २२ गते पनि आज भएको घटनास्थल भन्दा ५० मिटर पर जन्ती बस दुर्घटनामा १७ जनाको ज्यान गएको थियो ।
देब पचभैया
