धनकुटा,
संविधानसभा निर्वाचनलाई लक्षित गरेर भोट माग्न जिल्लाको महाभारत गाविस वडा नम्बर ४ पुगेको नेकपा एमालेको टोलीसंग स्थानीयबासीले राजनैतिक दलले पटक पटक गरेको बाचा पुरा नगरेकोले यस पालीको चुनावमा भोट हाल्न जाँगर मरेको बताएका छन् ।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय दिवस राईले चुनावको बेलामा राजनैतिक दलले जनतालाई विभिन्न आशा देखाएर भाकल गर्ने तर चुनाव जितेर गएपछि भाकल नछिनाउने गरेको गुनासो गरेका छन् । उनले गाउँमा सडक नबनेका कारण थाप्लोको भरमा जीवन चलाउनु परेको दुखेसो गरे ।
स्थानीय युवा देखि वृद्धवृद्धा सम्मले भोट हालेर के पाइन्छ र ? भन्दै दलहरु प्रति असन्तुष्टि प्रकट गरेका छन् । उनीहरुले गाउँको विकास गर्छु भनेर कसम खाएर आउने नेतालाई जिताउन तयार रहेको बताएका छन् । स्थानीयका समस्यालाई सम्बोधन गर्दै नेकपा एमाले धनकुटा क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार टिकाराम चेम्जोङ्गले उम्मदवारले चुनावको बेलामा भाकल गर्दै हिड्नु गलत हो भन्दै भाकल गर्ने नेताको भर नपर्न अनुरोध गरे । उनले कसैको शर्तमा नपरी राम्रो विचार र नीति भएका पाटीलाई जिताए मात्र गाउँको विकास हुने स्पष्ट पारेका छन् ।
सन्तवीर लामा
