पाल्पा,
कार्तिक २३ ,पाल्पाका राजनैतिक दलहरूले संबिधान निर्माण गर्न भन्दा बिकास निर्माणको आसा देखाउदै मतदातालाई झुठो आसा बाडिरहेका छन् । मतदाताको घरदैलोमा पुगेर दलका उम्मेदवारले गाउँको विकास गर्ने र छोराछोरीलाई जागिर दिने समेतका लोभ देखाएका छन् ।
मतदातालाई प्रभावित पार्न जिल्लाका ठुला दलहरु एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)ले विकास र जागिरको सपना बाँडेको मतदाताहरुले बताएका छन् । उनीहरुले मतदातालाई भेटेर, चुनावी सभामा पनि गाउँमा मोटरबाटो बनाउने, लिफ्टबाट पानी तानेर जनतालाई खुवाउने, घरघरमा बाटो पु¥याउन डोजर चलाउने बताएका हुन् ।
पाल्पाको पश्चिमी भेग बल्ढेङ्गढी, सत्यवती, सिद्धेश्वर, सोमादी, बन्दीपोखरा, भुवनपोखरी, पुर्बको बाकामलांग, सहलकोट लगाएतका गाविसमा गएर उम्मेद्धारहरुले यस्ता आश्वासन दिने गरेको मतदाताहरुले बताएका छन् । तीन दलको बिचमा सबैभन्दा बढी प्रतिष्पर्धा हुने क्षेत्र मानिएको पाल्पा क्षेत्र नं. ३ मा एकीकृत नेकपा (माओवादी)का उम्मेदवार नेत्रप्रसाद पाण्डेय, कांग्रेसका उम्मेदवार हरिप्रसाद नेपाल र एमालेका उम्मेदवार कुलप्रसाद नेपालले मतदातालाई झुठा आश्वासन बाँड्नुभएको छ । उहाँहरूले चुनाव जिते कालीगण्डकीबाट पानी लिफ्ट गरेर गाउँमा ल्याउने बताएको मुझुङ्का स्थानीय रामु बम्रेलले जनाकारी दिनुभयो ।
चुनावी अभियानका क्रममा एमाओवादीका पाण्डेयले मतदाताको घरमै मोटरबाटो पु¥याउन डोजर प्रयोग गरिदिने आश्वासन दिनुभएको छ । यस्तै कांग्रेसका उम्मेदवार नेपालले भुवनपोखरीको चुनावी सभामा बाटो खन्ने र लिफ्टबाट पानी तान्ने आश्वासन दिनुभएको छ । यस्तै कुलप्रसाद नेपालले आफूले चुनाव जिते विद्यालयको भवन बनाईदिने, बाटो कालोपत्रे गर्नेलगायतका आश्वासन दिनुभएको बम्रेलले बताउनुभयो । यस्तै क्षेत्र नं. २ मा पनि आश्वासन बाँड्न यस्तै प्रतिष्पर्धा चलेको छ ।
एमाओवादीले कसेनी, रुप्से, मदनपोखरा, चिर्तुङ्धारा, पोखराथोक गाविसका सुकुमवासीलाई लालपूँर्जा बाँड्ने भनेर चुनावी सभामा बोलाएको स्थानीय शेषबहादुर थापाले बताउनुभयो । एमालेले पनि आफ्ना उम्मेदवार सोमप्रसाद पाण्डेयलाई भावी मन्त्री हुने, गाउँमा विकासको बाढी नै ल्याउने भनेर मतदातालाई प्रभावमा पार्न खोजेको आरोप मतदाताले लगाएका छन् ।
देब पचभैया
