नेपालगन्ज
कार्तिक २१,स्थानीय प्रशासनले बाँकेमा सुरक्षा अवस्था मजबुद रहेको बताएको छ । नेपाल पत्रकार महासंघका पदाधिकारीसंगको छलफलका क्रममा बांकेका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद ओलीले पत्रकार भेटघाट कार्यक्रममा यस्तो कुरा बताउनु भएको हो । उहांले निर्वाचनका बेला हुन सक्ने घटनालाई मध्यनजर गरि सुरक्षाकर्मी परिचालन गरिएको बताउनु भयो । सवै उम्मेदवारले निर्धक्क भएर चुनावी प्रचार प्रसार गरिरहेको उल्लेख गर्दै ओलीले ४ वटै निर्वाचन क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीको क्याम्प खडा गरि सुरक्षा ब्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
त्यसैगरी चुनावलाई मध्येनजर गर्दै खुला सिमानामा चुनावका समयमा कडा गरिने समेत बताउनु भयो । उहांले भन्नु भयो बांकेका ४ वटै क्षेत्रमा शान्तिपूर्ण ढंगले काम भईहेको छ । कुनै उम्मेदवारलाई धम्की र अवरोध नआएको दावी गर्दै प्रमुख जिल्ला अधिकारी वलीले सामाजिक तथा धार्मिक संहिष्णुतालाई कायम राख्न प्रशासन सचेत रहेको बताउनुभयो । निर्वाचन क्षेत्रमा खटिएका सुरक्षाकर्मीले गस्ती गरेको छ छैन भन्ने विषयमा प्रशासनले निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उहांले उम्मेदवारको सुरक्षाका लागि सम्पर्कमा रहेको जानकारी दिनुभयो । यता डयास माओवादीले २५ गते बाट अनिश्चित कालिन चुनावलाई बहिष्कार गर्दै बन्दको आह्वान गरेपनि चुनावलाई भयरहित बनाउन सुरक्षा अवस्था कडाईका साथ लगिने बताउनु भयो ।
बांकेबाट उम्मेदवार उठेकाहरु मध्ये ११ जनाले ब्यक्तिगत सुरक्षाकर्मी लिएको ओलीको भनाई थियो । निजामति कर्मचारीले दलको प्रचार प्रसार गरिरहेको खवर पाउनासाथ सचेत गराएको उल्लेख गर्दै उहांले पहिलेको भन्दा पछिल्लो समयमा कर्मचारीहरु दलको प्रचार प्रसारमा सहभागी हुने क्रम कम भएको दावी गर्नुभयो । बांकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपालप्रसाद भण्डारीले उम्मेदवारको सुरक्षाका लागि बाँके प्रहरीले २४ सैं घण्टा सम्बेदनशील भई कार्य क्षत्रमा खटिएको बताउनु भयो । निर्वाचनलाई लक्षित गरि अप्रेशन शील लागु गरेको भन्दै उहांले चेकजांचमा समेत कडाई गरिएको बताउनु भयो । बांकेमा ३८ वटा पार्टी दर्ता भएका छन् भने उम्मेदवार १सय १५ वटा रहेको छ ।
दीपा आले , नेपालगन्ज
