संघीय समाजवादी पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष तथा जनजाति नेता आङकाजी शेर्पाले आफूलाई मार्ने धम्की अति हिन्दुवादिहरुले दिएको वताए । सुनसरीको धरानमा पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा उनले सो जानकारी दिएका हुन् । चुनावी प्रचार प्रसारको क्रममा सुनसरीको धरान आईपुगेका सेर्पाले संघिय समाजवादीले बहुमत ल्याए ६ महिनाभित्र संविधान निर्माण गरेर देखाउने दाबी समेत गरे । उनले नयाँ संविधान निर्माण गर्न नयाँ पात्रहरुलाई भोट दिनु पर्ने अडान राखे ।
पुरानै पात्रहरुलाई संविधान सभामा जिताए फेरि पनि संविधान बन्न नसक्ने दाबी गर्दै नयाँ पात्रलाई जिताउँन उनले आग्रह गरे । अहिले हिन्दु अतिवादीहरुले करौडौं पैसाको चलखेल गर्दै पहिचान विरोधी शक्तिहरुलाई धेरै भन्दा धेरै जिताउने षडयन्त्रमा लागेको आरोपसमेत लगाए । उनले फेरि पनि संविधान नबनेमा सडकबाट त विद्रोह हुन्छ हुन्छ संविधान सभाबाट पनि विद्रोहको स्थिति सिर्जना गर्ने चेतावनी दिए । पहिचान विरोधी तत्वकै कारण गएको संविधानसभामा पनि संविधान बन्न नसकेको अडान लिँदै अव पात्र परिवर्तन गरी जनताले नयाँ शक्तिलाई म्यानडेट दिनु पर्ने जिकिर सेर्पाले गरे ।
‘नयाँ पात्र बनाउनु आजको आवश्यकता हो, उनले संचारकर्मी संग भने ‘संविधान जारी गर्न नसक्ने हिरोहरुलाई तपाईहरुले चिन्न आवश्यक छ ।” उनले सरकारले सेना परिचालन गर्नु सिद्धान्तः गलत भएको बताए । सेना परिचालन गरेर पनि उम्मेद्वार तथा जनता भयरहित, स्वतन्त्र र स्वच्छ हुने कुरामा विश्वस्त नभएकोले सरकारले सुरक्षाको व्यवस्था गर्नु पर्ने बताए । सेर्पा सुनसरीको धरानवाट उदयपुरको गाईघाटमा हुने कार्यक्रममा सहभागी हुदै राजधानी फर्किएका छन् ।
भैरब आङ्ला, धरान
