सुख चाहियो ? ध्यान दिए पाईन्छ

Read Time:13 Minute, 39 Second

इन्दिरा चोङ्बाङ

सुखको खोजीमा मानिस जन्मदेखि नै भौतारी रहेको हुन्छ । सुखी हुने इच्छा सबैमा  हुन्छ , तर  चाहना भएर मात्र के गर्ने सुख भन्ने चिज न त कसैको वशमा हुन्छ न त कसैले इच्छा गर्दैमा पाइन्छ  । यधपी मानिस सुख  प्राप्तिका लागि  जुझारू भएर लागिरहेका  हुन्छन्  । त्यसको बिपरित  सुख भने टाढा टाढा भागिरहेको हुन्छ  । सुखलाई एकिन अर्थमा मापन गर्ने कुनै साधन छैन । कुनै व्यक्ति एउटा  परिस्थिमा सुखी हुन्छ भने अर्को व्यक्तिलाई सुखी हुन उक्त परिस्थिति काफी हुन्न । त्यसैले सुखी हुनका लागि प्रत्येक व्यक्तिलाई  अलग परिस्थिति र भिन्न तत्वको आबश्यक हुन्छ  । “सुख” को  एकिन परिभाषा नभए पनि विभिन्न मनोबैज्ञानिक तथा बिस्लेशकहरूले सुखलाई आ आफ्नै अर्थमा परिभाषित गरेका छन् । सुखलाई अन्तरिक आत्माको शान्ति पनि भनिन्छ भने आफुले चाहेको चिज प्राप्ति हुनुलाई अर्थात् आत्मसन्तुस्ट हुनलाई सुखको परिभाषामा राखेका छन् ।

सुखको अर्थ र परिभाषा अत्यन्त बृहत छ । कसैले सुखलाई धन सम्पति संघ तुलना गर्छन् भने कसैले मनभित्रको शान्तिलाई सुख  सम्झन्छन् । त्यसैले धन सम्पति नहुने मान्छे कसरी धेरै पैसा कमाएर  सुखी हुने भन्ने प्रयत्न गर्छन्  तर अथाह धन र सम्पतिले मात्र मानिस कहाँ सुखी हुन्छ  र ?  सम्पन्न मानिसहरू सुखी हुन्छन् भन्ने भनाइ सत्य होइन । त्यस्ता मानिस  आफन्तको अभाव, पारिवारिक चिन्ता, राजनीतिक संकट आदिजस्ता समस्याले दु:खी  हुन सक्छन  । त्यसैले सुख भन्ने चिज न त धन सम्पतिको वशमा सक्छ न त पारिवारिक  ममतामा सिमित हुन्छ । यो संधै एक पछि अर्को आवश्यकता बढे जस्तै अजङ्ग भएर बढी रहन्छ,  तर यसो भन्दैमा संसारमा सुखी मान्छे नै छैनन्  भन्न खोजेको चाही  अवश्य होइन । यो बिश्वमा यति  धेरै सुखी मान्छेहरू पनि छन् जो आफुमात्र बाच्न होइन, आफु मात्र सुखी हुनको लागि होइन, विश्वका हरेक  मानिसलाई  सुखी बनाउन चाहन्छन र सम्पूर्णलाई जगतलाई बचाउन चाहान्छन्  । विभिन्न संस्थाले गरेको अध्ययनको प्रतिबेदन अनुसार सुखी मानिसहरू नै विश्वका सफल मानिसहरू हुन् ।

भगवान गौतम बुद्ध संधै सुखी थिए  तर उनले आफ्नो मत्र सुख चाहेनन्,   बिश्व मानव जगतको  सुखको खोजीमा उनि भौतारिए ।  फ्लोरेसें नाइटिगेलले अरूको सुखको लागि आफ्नो सुखलाई भुलिन् र अरूको सेवामा रूझिन । त्यसैले सुखी हुनको लागि कसैलाइ  भौतिक बस्तुको आवश्यकता पर्छ भने कसैलाई आन्तरिक मोक्षको जरूरत पर्छ । एउटा बालक खेलौना पायो भने रम्न थाल्छ र सुखी हुन्छ तर त्यो बालक  जब जवान हुन्छ उनलाई त्यो चिज सुखी हुनको लागि काफी हुन्न । त्यसैले सुखी हुने चिज समय, परिस्थित र व्यक्तिको अन्तर्निहित इच्छा मोहसंग  गांसिएको हुन्छ  ।

हरेक वर्ष विश्वमा बिभिन्न   निकायले कुन देशमा कति मानिस  सुखी छन् भनेर अनुसन्धान गर्ने गरेका छन् । झट्ट हेर्दा बिकसित मुलुक अविकसित  तथा बिकासोन्मुख  राष्ट्र भन्दा सुखी हुनु पर्ने हो तर अध्ययनले  एकिन रूपमा त्यस्तो देखाएको छैन । सन् २०१३ मा संयुक्त  राष्ट्र संघको स्थायी विकास  संजालले जारी  गरेको प्रतिबेदन अनुसार १५६ राष्ट्रमा गरिएको अध्यनले  बिश्वको धनि मुलुक  अमेरिका  १७ औ स्थानमा मात्र सुखी रास्ट्रकोरूपमा परेकोछ । मानव स्वतन्त्रता, स्वास्थ्य, शिक्षा, उदारता , मृत्युदर आदिजस्ता  तत्वलाई आधार बनाएर गरिएको उक्त सर्वेक्षणले   डेनमार्कलाई बिश्वको प्रथम सुखी रास्ट्रको रूपमा पाएको छ  भने त्यसपछिका देशहरूमा नर्वे, नेदरलेंड्स, स्विजर्लैंड, स्विडेन, क्यानाडा, फिनल्याण्ड, अस्ट्रेलिया, आइसल्याण्ड आदि रहेका छन् ।

सुखी हुनको लागि विभिन्न समय र परिस्थितिले  असर पारेको हुन्छ । सुखी हुनु खोज्नु मानिसको नैसर्गिक अधिकार हो । जीवन लामो लागे पनि हामी सबै यस  लोकमा थोरै समयको लागि  आएका छौं।  त्यसैले बाचुन्जेल सुखी जीवन  खोज्नु अन्यथा होइन ।  तर सुखी कसरी हुँने भन्ने अप्ठ्याराहरू संधै हामीसंग  खडा भएको हुन्छ । हामी कहिले काही  जानी नजानी आफै समस्या निम्ताइरहेका  हुन्छौ र सुखको ठाँउमा  दुखलाई आमन्त्रण दिईरहेका हुन्छौ । यिनै हाम्रा अनगिन्तीचिजहरूले हामीलाई  दु:खी बनाइ  रहेको हुन्छ

विभिन्न चिन्तकहरूले गरेका अध्यन अनुसार केहि बुंदाहरू छन् जसले  सदैब सुखी रहन मद्दत गर्छ ।  हेरौ ति बुंदाहरू :

१. बढी सोंच्ने बानीको त्याग

अतित र भबिस्यको चिन्तामा जब बढी सोच्न थालिन्छ  तब त्यो व्यक्ति  संधै दुखी  हुन्छ । अतित संधै बितिसकेको समय हो , न  त  पश्चाताप गरेर त्यसलाई फर्काउन सकिन्छ न त त्यसमा कुनै परिवर्तन ल्याउन  नै सकिन्छ  । त्यसैले अतीतलाई सम्झेर चिन्ता गर्नाले समयको बर्बादी र दु:खी सिबाय केहि हुन्न  । भबिस्यको चिन्ता देखि डराउने व्यक्ति  सुखी जीवनबाट संधै टाढा  हुन्छन् ।  भोलिको चिन्ताले संधै मानिसलाई दु:खी  बाहेक सुखी बनाउन  सक्दैन  । भोलि अर्थात भबिस्य  संधै अनिश्चित हुन्छ, त्यो समयमा आफु रहन पनि सकिन्छ र नरहन पनि सकिन्छ  ।  आज अर्थात् बर्तमान हामि सबैको लागि महत्वपुर्ण छ । यदि सुखी बन्ने हो भने भुत र भबिस्यको चिन्तालाई छाडेर बर्तमानको आबस्यकता के हो त्यसैमा दत्तचित्त भएर लागौ ।

२. अरूसंग तुलना गर्ने आदत

अहो ! मसंग यो चिज छैन तर उ संग त्यो चिज छ , उसले म भन्दा बढी कमाउछ, उ म भन्दा राम्रो छ आदिजस्ता  अरूसंग तुलना गर्ने आदतले मानिसलाई  संधै दु:खी बनाउछ ।  सुखी बन्नको लागि अरूसंग तुलना गर्ने बानी त्याग्नुपर्छ  । सबैलाइ आफु राम्रो हुन मन पर्छ, धेरै पैसा कमाउन  मन पर्छ र आफु  सुन्दर हुन मनपर्छ । यी सब चिजहरू प्रकृति, समय र परिस्थितिका फलहरू हुन् त्यसैले अरूसंग धेरै छ, अर्थात् आफुसंग छैन भनेर चिन्ता गर्नु नकारात्मक सोचको विकास हुनु हो, यसले मानिसलाई संधै दु:खी बनाउछ ।  यस्तो प्रवृतिले मानिसको सुख खोसेर लान्छ । आफु हुनुको महत्व आफैमा खोज्नु पर्छ । प्रत्येक व्यक्ति यो बिश्वमा नै अलग अलग चिज हुन् त्यसैले अरूसंग तुलना गर्नु भन्दा आफुमा भएको चिजमा रमाउन सक्यो भने जीवन सुखी हुन्छ ।

३. आफुलाई आफै दोष दिने बानी

आफुले गरेको गल्तीमा आफैलाई दोष दिने आदतले पनि मानिस सधै दु:खी हुन्छन ।  जीवन जिउने भनेकै  आफ्नै लागि हो, गल्ति जानेर या नजानेर जोकोही बाट पनि हुन्छ तर त्यहि गल्तीलाई लिएर आफैलाई सजाय दिने प्रबृत्तिले मानिसलाई दु:खी बनाउछ । आफ्नो भावनाको कदर अरूले गर्ने होइन आफुलाई आफैले गर्नु पर्छ । संसारमा आफुले आफुलाई जति राम्ररी चिनिन्छ त्यो अरूबाट हुन् सक्दैन । त्यसैले आफुले आफैलाई माया गर्ने तथा आफुले गरेको गल्तीलाई माफ गरेर आफुलाई माफ गर्नाले मानिस सुखी बन्न सक्छ ।

४. नकारात्मक टिप्पणीको बेवास्ता गर्ने बानी : हामी रहने र बाच्ने समाजमा प्रत्येक दिन कुनै न कुनै सकारात्मक या नकारात्मक टिका टिप्पणी कुने गर्छन् । आफ्नो बारेमा राम्रो र सकारात्मक सोच्ने मानिस मात्र हुन्नन् कहिले काही  विभिन्न नकारात्मक टिका टिप्पणी सुन्नु पर्ने हुन्छ ।  यस्ता आलोचनालाइ सकारात्मकरूपमा लिन सक्ने अर्थात् बेवास्ता गर्न सक्ने व्यक्तित्व नै सुखी हुन्छन । किनकी जीवनमा संधै राम्रै पाटो भन्ने अबस्य हुन्न त्यसैले आफुलाई मन नलाग्ने र आफुलाई दु:खी हुने टिका टिप्पणीलाई बेवास्ता गर्नाले एकातिर आफ्नो अमुल्य समयको बचावट हुन्छ भने अर्कोतिर दु:खी हुन् बाट बचाउँछ ।

 ५. ब्यस्त रहने बानि

भनाइ नै छ “खालि दिमाग राक्षसको घर “, त्यसैले संधै ब्यस्त रहने मान्छे सकारात्मक सोचका हुन्छन् ।  फुर्सदको समयमा  पत्रिका  पढ्ने , टीभी हेर्ने, आफन्तसंग भेटघाट गर्ने, साथीसंग रमाइला  कुरा गर्ने प्रबृतिले मानिसलाई सुखी बनाउछ  । त्यसैले बढी फुर्सदमा रहनु भन्दा समयलाई ब्यस्त गुजार्न सक्यो भने सुखी जीवनको प्राप्ति गर्न सकिन्छ ।

६.सकारात्मक सोचको विकास

जीवनमा संधै सफल र खुसिमात्र कहिले हुँदैन । दुख -सुख, सफलता- असफलता सबै चिज एक पछि अर्को  गर्दै विभिन्न चरणमा आइ पर्छन् त्यसैले दुख भयो भनेर आत्तिने  गर्नु हुन्न ।  जीवनको कुनै मोडमा असफल हुँदा  हतास  हुनु हुन्न  किनभने सफलता र असफलता संधै आइराख्ने चिजहरू हुन् त्यसैले आफुलाई फेरी पनि सफल बनाउने हिम्मत लिनु पर्छ  ।जीवनमा आउने हरेक उतार चडाबलाइ एउटा पाठकोरूपमा लिन सक्नाले सुखी हुन् मद्दत गर्छ ।

७. अरूलाई खुशी पार्ने सोच

आफ्नो लागि मात्र सोच्ने मानिस स्वार्थी हुन्  त्यसैले अरूको खुशी र सुखलाई सोच्न सकियो भने त्यसबाट पाउने  आनन्द अरू कुनै चिजबाट पाउन सकिन्न ।  आफु बाहेक  आफ्नो परिवारलाई कसरी मदत गर्न सकिन्छ, अर्थात्  अन्य दुखमा परेका मानिसलाई कसरी सुखी बनाउन सकिन्छ भन्ने  बिषयमा दिमाग खर्च गर्यो भने अवश्य पनि अरूलाई केहीमात्रामा सेवा गर्न सकिन्छ । अरूलाई सेवा गर्ने व्यक्ति संधै सुखी हुन्छन ।

सारंशमा भन्दा,  सुखी जीवन कुनै भौतिक बस्तुले नभई आफ्नो मनभित्रको एउटा यस्तो  शक्तिबाट प्राप्त हुन्छ, जुन शक्तिलाई आफ्नो वशमा राख्न सकियोस ।  यदि मानिसले ती चिजलाई आफ्नो बशमा राख्न सकेन भने संधै दुखि हुन्छ / त्यसैले दु:खी हुने संयन्त्रलाई आजै पत्ता लगाएर सुखी हुनुहोस र सफल रहनुहोस ।

(लेखक: नेपाल पत्रकार महासं अमेरिकाको केन्द्रिय सदस्य हुन)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %