आफुले टिकट नपाएपछि साथीकै हत्या

Read Time:5 Minute, 15 Second

आसन्न संविधानसभा निर्वाचनका लागि एमालेबाट बारा क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फ उम्मेद्वारी दर्ता गरेको भोलिपल्टै महमुद आलममाथि गोली प्रहार भयो । टाउकोमै गोली लागेका आलमको आइसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा असोज २४ गते मृत्यु भयो । हत्यालगत्तै प्रहरीले अनुसन्धानलाई अगाडि बढायो । यसबीचमा अनुसन्धानलाई अन्यत्रै मोड्न विभिन्न हरकत भए । यद्यपि घटनाको तीन सातापछि प्रहरी आफ्नो कार्यमा सफल भएको छ । र, हत्तपत्त कसैले सोच्न नसक्ने तथ्य बाहिर आएको छ ।
संविधानसभाको दोस्रो निर्वाचनमा एमालेबाट बारा क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फ उम्मेद्वार बनेका महमुद आलममाथि असोज १८ शुक्रबार दिउसो गोली प्रहार भयो ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका अज्ञात समूहले आलमलाई निधारमै गोली हानेका थिए । वीरगञ्जमा प्रारम्भिक उपचारपछि काठमाडौं ल्याइएका आलमको शिक्षण अस्पताल महाराजगञ्जमा लामो समयसम्म उपचार भयो । आइसीयूमा राखेर निरन्तर उपचार गरिए पनि आलम बाँच्न सकेनन् । असोज २४ गते उनलाई चिकित्सकहरूले मृत घोषित गरे । घटनालगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोली घटनाको छानविनमा सक्रिय भएको थियो भने सरकारले पनि एआईजी दिनकरसम्शेर राणाको संयोजकत्वको तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । यस बीचमा चर्चामा आउन तराई मुक्ति टाइगर्स र तराई जनतान्त्रिक पार्टी नामका दुई भूमिगत समूहले घटना आफूले गराएको दाबीसमेत गरे । यता घटनाको छानविनमा लागेको प्रहरीले असोज २० गते केही दिनमै घटनाको यथार्थ सार्वजनिक गर्ने दाबी गरेको थियो ।
घटनाको २२ दिनपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ ग¥यो र आइतबार २३औं दिनमा मुख्य योजनाकारलाई सार्वजनिक गरेको छ ।
विभिन्न शंका–उपशंकाबीचमा बाहिर आएको तथ्य भने केही अपत्यारिलो छ । यद्यपि सत्य यही नै हो । आलमको हत्याको मुख्य योजनाकार अरू कोही नभएर एमालेकै पूर्वसभासद् रामचन्द्र प्यासी कुशवाह रहेछन् । जसले आफूले टिकट नपाएको झोकमा हत्याको योजना बनाएका रहेछन् । आलमविरुद्ध विभिन्नखाले टीका–टिप्पणी गर्दै बद्नाम गराएर टिकट हत्याउने कोसिस गरेका कुशवाहले केही नलागेपछि मार्ने योजना नै बनाएछन् । र, भारतिय सार्पसुटरलाई प्रयोग गर्दै आलमको हत्या गरे । कुशवाह केही दिन त बचे तर प्रहरीको नजरबाट लामो समय बच्न सकेनन् र प्रहरीको खोरमा पुगे ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट कुशवाह र उनका दुई सहयोगी शनिबार राति पक्राउ परे । तर हत्यालगत्तै भारत प्रवेश गरेका अन्य अपराधी भने पक्राउ पर्न सकेका छैनन् । सीआईबीले आलमको हत्यालगत्तै कुशवाहलाई पनि निगरानीमा राखेको थियो । अन्ततः प्रहरीको शंका फरक परेन । प्रत्यक्ष उम्मेद्वारमा आफ्नो नाम नपरेकै कारण कुशवाहले भारतीय अपराधीको प्रयोग गरेर आलमको हत्या गरेको प्रहरीले जनाएको छ ।

असोज १८ गते बाराको लिपनीमाल– ४ स्थित चावासोती राइसमिलबाट निस्कदै गर्दा आलममाथि गोली प्रहार भएको थियो । भारतीय नम्बर प्लेटमा आएका दुई व्यक्तिमध्ये एक जनाले हात मिलाउने क्रममा आलमलाई टाउकोमै गोली हानेका थिए । घटनालगत्तै अनुसन्धानलाई प्रभावित पार्न कुशवाहले दुई भूमिगत संगठनको नामबाट घटनाको जिम्मेवारी लिनेदेखि घटनामा अन्तर्राष्ट्रिय अपराधी संलग्न रहेको सम्मका हल्ला फैलाएका रहेछन् । तर कुशवाहलाई आलमका पत्नी र सन्तानको आ“शुले पोल्यो । यता प्रहरीको अनुसन्धान पनि निकै अब्बल ठहरियो । अन्ततः आपराधिक मनोवृत्ति भएका कुशवाह पक्राउ परे । र, संगसंगै यो घटनाले एउटा महत्वपूर्ण पाठसमेत सिकाएको छ, आफ्नैलाई पनि शतप्रतिशत विश्वास गर्नु हुन्न ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %