अपहरणकारी पक्राउ परेको झण्डै एकसाता वितिसक्दा पनि अपहरितको अवस्थाबारे प्रहरीले केही नबताएपछि बाराका स्वास्थकर्मी भगवान बडालको अपहरण घटना थप रहस्यमय बन्दै गएको छ ।
आइतबार सदरमुकाम कलैयामा भएको पत्रकार सम्मेलनमा अपहरणमा संलग्न ६ जनालाई सार्वजनिक गरेपनि प्रहरीले बडालको अवस्थाका बारेमा केही बताएन । घटनामा संलग्न रौतहट कनकपुर–५ सिमरी गाउका रामबहादुर माझी, रावण माझी, फूलमाया माझी, मिना माझी, दीलिप माझी र रेखा माझीलाई पनि प्रहरीले सार्वजनिक गरेकोछ । अर्का आरोपित जोधालाल महतोलाइ भने प्रहरीले सार्वजनिक गर्न मानेन । पीडितहरुले महतो नै घटनाका मुख्य योजनाकार भएको आरोप लगाईरंहदा प्रहरीले भने उनलाइ सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाउने तयारी गरेको छ । 
बाँकी ६ जना अपहरणमा संलग्न भएपनि उनको प्रत्यक्ष संलग्नता नरहेको प्रहरीको दाबी छ । उता पीडित परिवारले भने यति लामो समयसम्म घटनाबारे स्पष्ट कुरा प्रहरीले बाहिर नल्याउनुले घटना रहस्यमय भएको दुःखेसो गरेका छन् । घटनामा संलग्नलाइ जोगाउन उच्च राजनीतिक दबाब परेकाले आफूहरुले न्याय पाउन नसकेको उनीहरुले बताए । जोगिलाल नेपाली काँग्रेसका स्थानीय नेता हुन् ।
प्रहरीले पीडि परिवारसंग एकथरी र सार्वजनिक रुपमा अर्को कुरा गर्न थालेपछि नीजगढबासी सशंकित बनेका छन् । एकहप्ता अघि नै सबै विवरण खुलाउने बताएको प्रहरीले अनुसन्धान जारी रहेको भन्दै बडालको अवस्था खुलाउन भने मानेन । भदौ ३१ गते अपहरणमा परेका बडालको हत्या भैसकेको प्रहरी श्रोतको भनाई छ । एकातर्फ परिवारलाई कंकाल भेटिएको अपुष्ट खबर प्रहरीले नै दिइरहेको छ भने अर्कोतर्फ घटनाका मुख्य आरोपितलाई अपहरण मुद्धाबाट अलग बनाउन खोज्नुले घटना थप रहस्यमय बन्दै गएको हो । अपहरणकारी पक्राउ नै परेको हो भने अपहरितको अवस्था कसरी थाहा हुन सकेन ? प्रश्न पेचिलो बन्दै गएको छ ।
आनन्द गुरुङ
