स्याङ्जा, कात्तिक १०
दोस्रो संविधासभाको निर्वाचन नजिकिदै गर्दा यहाँका सबै राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवारले चुनावी प्रचारलाई तिव्रता दिएका छन् । चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न उनीहरु घरदैलो कार्यक्रम लिएर मतदाता सामू पुगेका छन् ।
स्याङ्जाका तीन क्षेत्रबाट विभिन्न दलका र स्वतन्त्रसहित ३९ उम्मेदवारमध्ये ३४ जना नयाँ अनुहार छन् । क्षेत्र नं १ मा एमाओवादीबाट तमुवान राज्यसमितिका सदस्य शैलेन्द्र घिमिरे, नेपाली कांग्रेसका महासमिति सदस्य राजु थापा र एमालेका राष्ट्रिय प्रतिनिधी परिषद् सदस्य नारायणप्रसाद मरासिनी चुनावी मैदानमा छन् । यी तीनै जना पहिलोपटक चुनावमा उत्रिएका हुन् ।
क्षेत्र नंं १ लाई एमालेको पकड क्षेत्र मानिन्थ्यो । यो क्षेत्रबाट २०५६ र २०६४ को निर्वाचनमा एमालेका हितकाजी गुरुङले चुनाव जितेका थिए । हितकाजीले एमाले छाडेर राजनीतिमा निस्क्रिय भएपछि पहिलो पटक एमालेले उम्मेदवार परिवर्तन गरेको हो ।
क्षेत्र नं. २ बाट एमाओवादीका तमुवान राज्य समिति सदस्य कल्पना अर्याल, नेपाली कांग्रेसका जिल्ला सभापति कमलप्रसाद पंगेनी र एमालेका क्षेत्रीय अध्यक्ष कृष्ण खाण भिड्दैछन् । यो क्षेत्रमा पनि सबै उम्मेदवार नयाँ हुन् । क्षेत्रमा २०६४ को संविधान सभा चुनावमा क्षेत्र नंं. १ मा एमालेका हितकाजी गुरुङसँग एक हजार ७ सय ७ मतले पराजित भएका कमलप्रसाद क्षेत्र नं. २ का लागि नयाँ अनुहार हुन् ।
क्षेत्र नं. २ लाई कांग्रेसको पकड क्षेत्र मानिन्छ । मध्यावाधी बाहेक २०४८, २०५६ र २०६४ मा नेपाली कांग्रेसका गोपालमान श्रेष्ठले यो क्षेत्रबाट चुनाव जितेका थिए । गोपालमानको दबदबा रहेको यो क्षेत्रमा ठूलो संघर्षपछि काँग्रेसले पहिलो पटक उम्मेदवार परिवर्तन गरेको हो । २०६४ को संविधान सभा निर्वाचनमा यो क्षेत्रमा गोपालमानले १७ हजार २ सय ४७ मत ल्याउँदा एमालेका चक्रबहादुर पराजुलीलाई ५ हजार ७४ मतले परातिज गरेका थिए ।
क्षेत्र नं. ३ मा डम्बरदेव अर्याल, नेपाली कांग्रेसका पूर्व सभासद् मोहनप्रसाद पाण्डेय र क्षेत्रीय अध्यक्ष मुक्तिप्रसाद पाठक चुनाव लड्दैछन् । २०६४ को संविधान सभा चुनावमा कांग्रेसका मोहनप्रासाद पाण्डेले १८ हजार ४ सय १९ मत ल्याउँदा एमालेका मुक्तिप्रसाद १ सय ६२ मतले पराजित भएका थिए । स्याङ्जाका अन्य दुई क्षेत्रमा नयाँ अनुहारलाई मौका दिएको कांग्रेस र एमालेले यो क्षेत्रमा २०६४ सालमा चुनाव लडेका उम्मेदवारलाई नै दोहो¥याएको हो । एमाओवादीका डम्बर भने पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन् ।
क्षेत्र नं. ३ मा २०४८, २०५६ र २०६४ मा नेपाली कांग्रेसले चुनाव जितेको थियो । २०५१ को मध्यावधि निर्वाचनमा एमालेका तर्फबाट महेन्द्र्र थापाले चुनाव जितेका थिए । उनी अहिले संघिय समाजबादी पार्टीका उपमहासचिव छन् ।
क्षेत्र नं. १ स्याङ्जामा सहकारी पार्टी नेपालका आशु बिक, मधेजी जनअधिकार फोरम लोकतान्त्रिकका कुलबहादुर खत्री, सद्भावना पार्टीका खैरन निशा, अखण्ड नेपाल पार्टीका गोपालबहादुर क्षेत्री, नेपाल परिवार दलका बन्धुराज रेग्मी, नेकपा मालेका शिवराज रिजाल, राष्ट्रिय जनमोर्चाका हिरामति शाही, संघिय समाजवादी पार्टीका हेमन्त थापामगर र स्वतन्त्र उम्मेदवार गणेशप्रसाद ढकाल पहिलो पटक चुनावी मैदानमा उत्रेका छन् ।
क्षेत्र नं. २ मा नेपाल परिवार दलका डालबहादुर खड्का, संघिय समाजवादीका डिलबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका दोर्णबहादुर गुरुङ, अखण्ड नेपालका भक्तबहादुर केसी, राष्ट्रिय जनमोर्चाका राजेन्द्रप्रसाद गैह्रे, देशभक्त समाजका लोकबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीका हिरामणी बिक, राप्रपा नेपालका दिलिप श्रेष्ठ पहिलो पटक चुनाव लड्दैछन् ।
क्षेत्र नं. ३ मा राष्ट्रिय जनमुक्तिको बिजसिंह थापा, राष्ट्रिय जनमोर्चाका लालबहादुर राना, संघिय समाजवादीका विनोद खवास, राष्ट्रिय प्रजातन्त्र पार्टीका बेदप्रसाद भट्टराई, नेपाल कम्यूनिष्टका तेजबहादुर मल्ल, राप्रपा नेपाल अग्नीधर ढकाल, नेपाल परिवार दलका सुन्दर बश्याल, जनयुनिटी कोअपरेटिभ पार्टीका हरिप्रसाद अधिकारी पहिलो पटक चुनावमा उत्रेका छन् ।
यीमध्ये स्याङ्जाका तीन वटै क्षेत्रमा ठूला तीन दल एकिकृत नेकपा माओवादी, नेपाली काँगे्रस र नेकपा एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । स्याङ्जाका तीन वटै क्षेत्रमा धेरैजस्तो नयाँ अनुहार चुनावी मैदानमा छन् ।
स्याङ्जामा एक स्वतन्त्रसहित १८ दलका उम्मेदवारहरु चुनावी मैदानमा भए पनि मुख्य गरि प्रमुख तिन ठूला दलबिच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । पहिलो संविधान सभा निर्वाचनमा क्षेत्र नं १ मा एममाले र बाँकि दुई वटा निर्वाचन क्षेत्रमा काँग्रेसले जितेको थियो ।
स्याङ्जामा यस पटकको निर्वाचनमा तीन ठूला दल एमाओवादी, कांग्रेस र एमालेले आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन् ।
एमाओवादीका जिल्ला संयोजक रामराज रेग्मीले पहिलो संविधान सभाको निर्वाचनमा पराजित भए पनि पहिचानसहितको संघियता, संघियतासहितको संविधान भन्ने एजेण्डसहित मतदातासामू गएकाले यो पटक स्याङ्जका तीनै क्षेत्रमा आफ्नो पार्टीले जित्ने बताए ।
‘प्रचारका हिसाबले १ र ३ नम्बर क्षेत्रमा अरुपार्टीभन्दा धेरै माथी छौ । त्यसैले दुई क्षेत्रमा जित सुनिश्चित छ’ संयोजक रेग्मीले दाबी गर्दै भने,‘हामीलाई क्षेत्र नं. २ मा अलि गाह्रो हो । थोरै बल गरे दुईमा पनि जित्न सक्ने भएकाले प्रयास गरिरहेका छौं ।’
नेपाली कांग्रेसका जिल्ला सभापति कमलप्रसाद पंगेनीले राष्ट्रिय ुअखण्डतासहित सामथ्र्यका आधारमा संघियता हुनुपर्ने मुख्य एजेण्डा लिएर मतदाता सामू गएकाले आफ्नो पार्टीले यहाँका तिनै क्षेत्रमा जित्ने दावी गरे ।
‘क्षेत्र नं २ र ३ मा कांग्रेसले सँधै जित्दै आएको छ । क्षेत्र नं. १ मा अहिले कांग्रेसको पक्षमा माहोल बन्दै गएको छ । हाम्रा उम्मेदवार युवा पनि छन्’ कांग्रेस क्षेत्र नंं. २ उम्मेदवार समेत रहेका सभापति पंगेनीले भने,‘लोकतान्त्रिक संविधान बनाउनलाई पनि जनताले हामीलाई तीनै क्षेत्रमा जिताउने निश्चित भइसकेको छ । हाम्रो पक्षमा जनलहर छ ।’
एमालेकाका जिल्ला कमिटी अध्यक्ष पद्य्मा अर्यालले बहुपहिचानसहितको संघियतालाई मुख्य एजेण्डा बनाएर मतदाता सामू गएकाले स्याङ्जाका तिनै क्षेत्रमा एमोलेको जित निश्चित भएको दावी गरिन् । ‘क्षेत्र नं. १ मा सँधै जितेको क्षेत्र हो । दुई नम्बर क्षेत्र कमजोर मानिएकोमा अहिले हामी बलियो भइसकेका छौं’ अध्यक्ष अर्यालले भनिन्,‘तीनमा १ सय ६२ मतले हारिएको हो । अहिले मजबुत भएकाले तीन वटै क्षेत्रमा एमालेले जित्छ ।’
मनोज घर्तीमगर
