कर्मचारीलाई सत्ता सुम्पने ठूला राजनैतिक दलले संघीयता सहीतको संविधान निर्माण गर्न नसक्ने राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले बताएकाछन् । उनले देश र समाज विकासको लागि राष्ट्रिय जनमुक्ति पार्टीलाई जिताउनु पर्नेमा जोड दिए । रुपन्देहीको केरवानी–२, ६ नम्वर चोकमा राष्ट्रिय जनमुक्ति पार्टीको क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले उक्त कुरा बताएकाहुन्।
नेता सूर्यवंशीले पहिचान सहीतको संघीयता विना आदिवासी, जनजाति, दलित, पिछडा वर्गको उत्थान हुन नसक्ने बताउदै संघीयता पक्षधरलाई मतदिनु पर्नेमा जोड दिए । उनले भ्रष्टचारीलाई मुत्युदण्ड सरहको सजाय भएमा मात्र सुशासन कायम हुन सक्ने बताए । उनले अहिलेको निर्वाचन आम नेपालीहरुको पक्षमा संविधान बनाउने निर्वाचन भएकाले विकासका कुरा गर्ने संग सचेत हुनु पर्नेमा जोड दिए ।
पार्टीका क्षेत्रीय अध्यक्ष धन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघीय परिषद सदस्य लेखप्रसाद गुरुङ्ग, जिल्ला सदस्य नारायण गाहा, क्षेत्रीय सल्लाहकार नरेन्द्र पुन, समानुपातिकका उम्मेदवार नन्दलाल वि।क, बम बहादुर गाहा, लोकनाथ पंगेनी लगातयले बोल्दै जनमुक्तिको जीतले मात्र पहिचान सहितको संघीयता स्थापित गर्न सकिनेमा जोड दिएका थिए । हुमबहादुर डिसुवाको स्वागत र भिम विरकट्टाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
गोविन्द घर्ति देवदह
