संविधानसभा निर्वाचनमा समानुपातिकतर्फको दल दर्ता गर्ने प्रक्रिया सम्पन्न भएको छ । सोमबार निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले नाम दर्ता गराएका हुन् । निर्वाचन बहिस्कार गरेको केही दलले पनि समानुपातिक निर्वाचन प्रणालीमा दल दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ । जसका कारण निर्वाचन थप सुनिश्चित भएको छ ।
दलहरूले निर्वाचन आयोगमा समानुपातिक प्रणालीमा दल दर्ताको निवेदन पेश गरेका छन् । निर्वाचन आयोगको पछिल्लो सूचनासँगै आयोगबाट मान्यता पाएका एक सय ३० दलले समानुपातिक प्रणालीमा दल दर्ता गरेका हुन् । एकीकृत माओवादी, नेपाली काग्रेस, नेकपा एमालेलगायतका मुख्य दलहरूसहितका दलहरूले निवेदन दर्ता गराएका छन् । नेकपा माले सबैभन्दा पहिले पुगेको थियो त्यसैले मालेको निवेदन एक नम्वरमा दर्ता भएको छ भने एमाले सातौं नम्बरमा दर्ता भएको छ । केही ढिलो पुगेको एकीकृत माओवादीको निवेदन भने ५७औं नम्बरमा दर्ता भएको माओवादी नेता हितराज पाण्डेले जानकारी दिए ।
समानुपातिक प्रणालीमा कागं्रेसको दर्ता नम्बर ७५ रहेको छ । सोमबार निवेदन दर्ता नगर्ने दलहरूले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन पाउने छैनन् । कार्यतालिकाअनुसार आयोगले प्राप्त निवेदनमाथि छानबिन गरी मंगलबार नामावली प्रकाशन गर्नेछ । असोज १६ गते प्रकाशित सूचीमा नाम रहेका राजनीतिक दलले आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ । असोज १७ गते समानुपातिक उम्मेद्वारका लागि निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । कार्यतालिकाअनुसार राजनीतिक दलले उम्मेद्वारको बन्द सूची असोज १८ गते पेश गर्नुपर्नेछ । प्रत्यक्षतर्फका उम्मेद्वारी भने सबै दलका उम्मेद्वारहरूले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पुुगी दर्ता गर्नुपर्ने व्यवस्था छ । निर्वाचन बहिस्कारको पक्ष्ँमा रहेका करिब एक दर्जन दलले पनि समानुपातिक प्रणालीमा दल दर्ताको निवेदन पेश गरेका छन् । मंसिर ४ को निर्वाचन प्रक्रिया पूर्णरूपले सुरु भएकाले कही कसैले पनि शंकाको रूपमा नहेर्न निर्वाचन आयुक्त दोलखबहादुर गरुङको आग्रह छ ।
गुरुङले मतपत्र छपाइको प्राविधिक पूर्वाधार पूरा भइसकेकाले असोज १९ गतेबाट मतपत्र छपाई सुरु गरिने तयारी भएको बताए ।
आयुक्त गुरुङले सबै नगरपालिका र गाविसहरूमा प्रचार सामाग्री र मतदाता नामावली पुगी सकेको भन्दै मतदाता परिचयपत्र केही समयमा सबैको घरमा पुग्ने प्रक्रिया थालिएको जानकारी दिए । केही स्थानहरूमा समन्वयको अभावले निर्वाचन आयोगका केही सामाग्रीहरू लुटिएको भए पनि सुरक्षा व्यवस्था गडा गरिएको बताउँछन्, आयुक्त गुरुङ ।
आयोगले मतपत्र छाप्न पाँच सय मेट्रिक टन कागज खरिद गरिसकेको छ । त्यस्तै २० करोड रुपैयाँको प्रचार सामाग्री पनि तयार पारिसकेको जनाएको छ । यसरी तयार पारिएका सामाग्रीहरूलाई विशेष सुरक्षा दिएर जिल्लाहरूमा पु¥याउने काममा आयोग लागिपरेको छ । यता निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका दलहरूले पनि समानुपातिक प्रणालीतर्फ निवेदन दर्ता गर्नुले निर्वाचनलाई अझै सुनिश्चित बनाएको छ । र, निर्वाचन आयोगको पछिल्ला गतिविधिहरू हेर्दा पनि दोस्रो संविधानसभाको निर्वाचन मंसिर ४ मै हुने निश्चितप्रायः भएको देखिन्छ ।
आनन्द गुरुङ
निर्वाचन आयोगमा माले नंवर वन
Read Time:4 Minute, 53 Second
