लामो समयको रस्साकस्सीको अन्त्य गर्दै नेपाली कांग्रेसले सभापति सुशील कोइरालाको नेतृत्वमा १४ सदस्यीय संसदीय समिति गठन गरेकोछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसदीय समिति गठनको निर्णय गरेको हो । बैठकले पूर्णबहादुर खड्कालाई सह–महामन्त्रीमा नियुक्ति पनि गरेको छ । संसदीय समितिमा कोइरालासँगै वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, सह–महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष चित्रलेखा यादव, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला, आनन्द ढुंगाना, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधी र फर्मुला मन्सुर छन् । संसदीय बोर्ड गठन भएपछि आजदेखि नै उम्मेदवार छनोटको प्रक्रिया थालिने प्रवक्ता दीलेन्द्रप्रसाद बडुले जानकारी दिए ।

कांग्रेसमा संसदीय समिति गठनको विषयलाई लिएर लामो समयदेखि विवाद थियो । हिजो कोइराला र देउवा पक्षबीच भएको वार्तामा कोइराला पक्षका ९ र देउवा पक्षका ५ जना समितिमा राख्ने सहमति भएपछि विवाद टुंगिएको हो । पहिलेदेखि नै देउवा पक्षले समितिमा ६ जना माग्दै आएको थियो भने कोइराला पक्षले ४ जना लिएर चित्त बुझाउन आग्रह गर्दै आएको थियो । संसदीय समिति गठन नभएकै कारण कांग्रेसमा आगामी संविधानसभा निर्वाचनमा पार्टीबाट उम्मेवार बनाउने विषयमा औपचारिक छलफलसमेत हुन सकेको थिएन । समितिले कांग्रेसको तर्फबाट निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली घोषणा गर्नेछ ।
यसैबीच पूर्वसहमति अनुसार केन्द्रीय कार्यसमितिले देउवा पक्षबाट पूर्णबहादुर खड्कलाई सह-महामन्त्रीमा नियुक्त गरेको छ । धेरैअघि नै सह-महामन्त्री देउवा पक्षलाई दिने सहमति भएपनि कार्यान्वयन भएको थिए ।संसदीय समितिको गठन भएपछि नेपाली कॉग्रेसको मंगलबार बिहान ९ बजे समिति बैठक बस्दै छ । बैठकले प्रत्यक्ष र समानुपाति तर्फको उम्मेद्धारको टुङ्गो लगाउने महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।
आनन्द गुरुङ
