राज्यसत्तामा प्रकाशित जेबि पुन मगरको “बाहुन सराप्ने जनजाती नेताहरुले सिक्नै पर्ने यी कुराहरु” भन्ने लेखले मेरो ध्यानाकर्षण गर्यो । सर्बप्रथम त जेबीजीको लेखको शिर्षक नै भ्रामक र कपोकल्पीत छ भन्ने मेरो ठहर छ । किनभने जनजातीले बाहुनलाई कहिल्यै सराप्दैनन र सरापेको पनि छैन । बिभेदको कुरा उठ्दा मात्र बाहुनबादको बिरोध गर्छ । जानकारी छैन भने ख्याल राख्नुहोला- बाहुन र बाहुनबाद नितातन्त बेग्लै कुरा हो । साम्प्रदायिक कुरामा म बिश्वास पनि गर्दिन र बाहुन या अरु सबै समुदायहरुसँग हाम्रो सनातन देखिको प्रगाढ सम्बन्ध छ । तर तपाईको लेखले बास्तबिक कुराको खुलासा भन्दा पनि सामाजिक निष्ठामा आँच ल्याउने अर्थात खलबलाउने अभिप्रायले लेखेको देखिन्छ । 
यो लेखद्दारा आर्यन र मँगोल बिचको समिप्यता नजिक हुनुको सट्टा झनै टाढा हुने निश्चित छ । के तपाईको चाहाना यही हो ? यसरी जो कोही पनि ब्यत्तिलाई सामाजिक सद्भावमा खलल पु–याउने र समाज बिखण्डन गर्ने छुट छैन । तपाई फरक मत राख्न सक्नु हुन्छ त्यसमा मेरो कुनै आपत्ती छैन तर भ्रामक र पुङ न पुच्छरको कुरा लेख्ने अधिकार पनि पक्कै छैन । तर्कसँगत दुताबासकै वकालत गर्नुहोस तर यथार्थको बिषयबस्तु हुन आवश्यक छ ।
समावेशिताको कुरा उठाँउदा बाहुनलाई सराप गरेको बुझनु कुतर्क या रुग्न मनस्थिती सिबाय अरु केहि हैन । अर्को कुरा जनजाति महासँघ र च्याम्बर्स अफ कमर्सको प्रमुख अतिथिको बिषयमा छलफल भएतापनि “ महाबाणिञ्यदुताबासबाट बाहुन समुदायकै अरु कुनै कर्मचारीलाई प्रमुख अतिथी बनाई कार्यक्रम गर्नुहोस” भन्ने सम्प्रेशित भनाई सरासर गलत, झुटो र बनावटी अफबाह हो । किनभने जनजाती महासँघको सम्पुर्ण सँघ सँस्थाहरुलाई एक मात्र आग्रह यो हो की ‘कार्यक्रममा कन्सुलर नबोलाईदिनुहोला भन्ने । जनजाती महासँघको आफ्नो माग दुताबास हुदै नेपाल सरकारसँग भएको हुनाले दुताबासको यो र त्यो ब्यक्ति भन्ने प्रश्नै आउदैन । र सबै सँस्थाहरुले उत्त अनुरोधलाई अहिलेसम्म सम्मान गरिदिनु भएकोछ ।
यो बनावटी लेख यहाँ रहने सम्पुर्ण नेपाली समुदायमा भ्रम फैलाउन र महासँघको आन्दोलनलाई निस्तेज पार्न दुताबासको एजेन्ट मार्फत आएको हो र यस लेख, तर्क र भनाईमा कनै सत्यता नरहेको आम जनसमुदायमा अपिल गर्न चाहन्छु । त्यस्तै २०६२/६३ को आन्दोलनले प्राप्त गरेको सँबिधान सभाको अवशान हुनुमा तपाईले जनजाति समुदायलाई दोषारोपण गर्नु भएको रहेछ, यो तपाईको दृष्टिदोष तथा कलुषित बिचारको पराकाष्ठा हो । तपाईलाई थाहा छैन भने बुझ्नुहोस सँबिधान सभा तुहिनुमा ९९.९ प्रतिशत बाहुनबादको कारणले हो । अब फेरी पनि बुझ्नुहोस मैले बाहुनको कारणले भनेको हैन । बाहुनबाद भनेको के हो भन्नुहुन्छ भने डोर बहादुर बिष्टको पुस्तकहरु पढ्ने गर्नुहोस नेपालको धरातल बुझ्नलाई । घर बसेर नेपाल देखिदैन मित्र । “सबिधानै नबने धर्ती फुटदैन आकाश झर्दैन” भनेर गएर जिम्मेवार बोली बोल्ने को हो, तपाईलाई थाहा छ ? चार बर्ष सम्म सँबिधान सभालाई बन्धक बनाउने पार्टी नेताहरु को हो थाहा छ ?
अन्त्यमा च्याम्बर्स अफ कमर्सले चाहेको भए प्रहरी बोलाएर भए पनि कार्यक्रम गर्न सक्थ्यो भनेर धम्किको भाषामा लेख्नु भएको रहेछ तर जेबीजी यो पनि स्मरण गर्नुहोस की यो पब्लिक राईट भएको हङकङ हो नेपाल हैन ।
– बिमल राई
(ईमेल मार्फत पाठक पत्र प्रेशित गरेका विमल राईको जनजाति महासंघसंग आवद्धता के कति छ, उनको हैसियत के हो नखुलेपनि र, यो टिप्पणीमा भएका केहि आपत्तिजनक शब्दहरु लेखक जेवी पुन मगरकै स्विकृतिमा सम्पादन नगरिकनै राखिएकोछ ।)
-सम्पादक
टिप्पणी गरिएको जेवी पुनको लेख –
