संविधानसभाको निर्वाचन प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना भएका छन् । प्रत्यक्ष निर्वाचनका लागि देशका २ सय ४० वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले २ सय ४० निर्वाचन क्षेत्रमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरी निर्वाचनका विषयमा अभिमुखीकरण सम्पन्न गरिसकेको छ ।
समानुपातिक निर्वाचनका लागि भने आयोग काठमान्डौमा कार्यालय स्थापना गरिएको छ । समानुपातिक निर्वाचनका लागि आयोगका सचिव नरेन्द्र दाहाललाई निर्वाचन अधिकृत तोकिएको छ । दोस्रो संविधानसभा निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको छ । निर्वाचन कार्यालय स्थापनासंगै निर्वाचनको गतिविधि थप तिब्र भएको छ । निर्वाचनमा सहभागिताका लागि आयोगमा १ सय ३० दल दर्ता भएका छन् । प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारी दर्ता गराउन चाहने दल तथा स्वतन्त्र उम्मेदवारका लागि प्रत्येक निर्वाचन क्षेत्रमा कार्यालय स्थापना भएका हुन्
। तिनै कार्यालयमार्फत निर्वाचनका सबै काम हुने गर्छ । निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक सबै सहयोग पुर्याउन आयोगले आफ्ना जिल्ला कार्यालयका अधिकारी र प्रमुख जिल्ला अधिकारीलाई आवश्यक परिपत्र गरिसकेको छ । यसैबीच आगामी मसिर ४ गते हुने दोस्रो सविधानसभा निर्वाचनलाई मध्यनजर गर्दै झापामा पनि निर्वाचन कार्यालय स्थापना गरिएको छ। जिल्ला निर्वाचन कार्यालय झापाले आज एक कार्यक्रमकाबीच क्षेत्रगत रुपमा निर्वाचन कार्यालयहरु स्थापना गर्नुका साथै निर्वाचन अधिकृत समेत तोकेको छ ।
झापामा रहेका सात वटा निर्वाचन क्षेत्रका लागि सात वटा निर्वाचन कार्यालय र सात जना निर्वाचन अधिकृत तोकिएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए त्यसैगरी आगामी मंसिर ४ गते हुने संविधान सभा निर्वाचनको लागि आजदेखि पाल्पाका ३ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरेर काम सुरु भएको छ । हालै पुननिर्माण भएको पाल्पा दरवारमा जिल्लाको ३ वटै निर्वाचन क्षेत्रको कार्यालय स्थापना गरी निर्वाचन अधिकृतहरुले औपचारीक रुपमा काम शुरु गरेका छन । पाल्पाको मुख्य निर्वाचन अधिकृत र क्षेत्र नं. ३ का लागि जिल्ला न्यायाधिश दयानाथ खरेल, क्षेत्र नं. २ का लागि बलराम त्रिपाठी र क्षेत्र नं. १ का लागि रामराज उप्रेति निर्वाचन अधिकृतको रुपमा खटिएकाछन ।
आनन्द गुरुङ
