मंसिर ४ गतेको संविधान सभा निर्वाचनलाई लक्ष्यगरी संघीय समाजवादी पार्टी नेपालले अध्यक्ष अशोक राईको संयोकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । शनिबारबाट राजधानीको बसुन्धारा स्थित एबीसी पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिवेदन पारित गर्दै उक्त निर्णय गरेको हो । दुई दिने केन्द्रीय समितिको बैठकको पहिलो दिन शनिबार उच्चस्तरीय राजनीतिक समितिसित गरेको सम्झौताको समीक्षात्मक मूल्यांङ्कन गर्दै राजनीतिक प्रतिवेदन पारित गरेको महासचिव राजेन्द्र श्रेष्ठले बताए।
उनले भने,’उच्चस्तरीय राजनीतिक समितिसंग हामीले गरेको पॉचबुँदे मॉग र सम्झौताको मूल्यांङ्कन गर्दा अन्तरिम संविधान, २०६३ लाई सहीस्थानमा ल्याउने काम भएको ठहर गर्यौं, मुलुकको राजनीति सर्वदलीय राष्ट्रिय सहमतिमा पुगेकोले अब सम्पूर्ण सामर्थ्यलाई चुनावी माहौलमा बदल्ने निर्णय गरेका छौं । ‘ बैठकले महासचिव श्रेष्ठको संयोजकत्वमा संविधानसभा निर्वाचन घोषणापत्र मस्यौदा समिति र उपाध्यक्ष विजय सुब्बाको संयोजकत्वमा उम्मेदवार सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
पार्टीले आगामी निर्वाचनमा अन्य राजनीतिक दलसित तालमेल गर्न उपाध्यक्ष रकम चेम्जोङको संयोकत्वमा पहिचान सहितको राजनीतिक शक्तिहरुसित वार्ता गर्न समन्वय समिति गठन गरेको छ । बैठकमा गत साता उच्चस्तरीय राजनीतिक समितिसित भएको सम्झौतामा संविधानसभाको सदस्य संख्या ६०१ जना नै कायम हुने, आगामी मंसिर ४ गतेको निर्वाचन सुनिश्चित गर्न विघटित संविधान सभामा सहभागी सबै राजनीतिक दलसहितको सर्वदलीय बैठक आयोजना गर्ने सहमति भएको छ ।
त्यस्तै भावी संविधान सभाको आधारभूत सिद्धान्तका सन्दर्भमा विघटित संविधान सभामा सहमति भएका विषयहरुको स्वामित्व लिन आवश्यक गृहकार्य गर्ने, विदेशमा रहेकालाई निर्वाचन अधिकार दिइनु पर्ने सन्दर्भमा यथासम्भव प्रक्रियाको थालनी तथा कानुनी व्यवस्था गर्ने सहमति भएको छ । संघीय समाजवादी पार्टीले प्रत्यक्षबाट जित्न सम्भावित जिल्लाबाट उम्मेदवारी दिने र अन्य स्थानहरुमा भने पार्टीको घोषणापत्र, राजनीतिक कार्यक्रम र प्रस्ताव हेरेर विचार, सिद्धान्त, मुद्दा र एजेन्डा मिल्नेसित चुनावी मोर्चाबन्दी गर्नेछ । विचार र सिद्धान्तभन्दा बढी मुद्दा र एजेन्डालाई मोर्चा निर्माणको आधार मान्ने जनाइएको छ । त्यसबारे बैठकले थप गृहकार्य गरी निर्णय लिने जनाइएको छ ।
आनन्द गुरुङ
