पोखरा, २९ भदौ
कसैले केक काटेर त, कसैले भोजभतेर गरेर जन्म दिन मनाउँछन् । साहित्यकार सरुभक्तलाई त्यसरी जन्म दिन मनाएको सम्झना छैन । खासै तामझामन नगर्ने उनले २०६० सालदेखि हरेक वर्ष पाठकमाझ किताब ल्याएर जन्मदिन मनाउन थालेका छन् । अरुले जन्मदिनमा केक काट्दा उनले किताबलाई नै बर्थ डे केक मान्ने गरेका छन् ।
तीजकै दिन जन्मिएका उनले मितिलाई भन्दा तिथीलाई जन्मदिन मान्छन् । तीज कहिले भदौमा पर्छ कहिले साउन । उनले जुन दिन तीज पर्छ त्यही दिनलाई जन्मदिन मान्छन् । आईतबार ६९ औं जन्म दिन मनाउन सरुभक्तले आफ्नो किताब ‘विज्ञान कथा भाग–१’ पाठक माझ ल्याए । संग्रहमा १२ वटा पूराना र ११ वटा नयाँ कथा छन् । 
साहित्यकार सरुभक्त सरोकार केन्द्र(सासस) नेपालको दशौं वार्षिकोत्सवका अवसरमा केन्द्रले आयोजना गरेको कार्यक्रममा उनको किताब कार्टुनिष्ट दुर्गा बराल वात्सायनले विमोचन गरे । किताब फाइन प्रिन्टले छापेको हो ।
‘साहित्यकार सरुभक्त सरोकार केन्द्रको स्थापनासँगै सरुभक्तले मैले हरेक वर्ष जन्मदिनमा पाठकलाई उपाहार स्वरुप किताब ल्याउने गरेको छु’ सरुभक्तले भने, ‘अझै मसँग २०÷२५ वटा किताबका पाण्डुलिपी छन् । यसलाई म निरन्तरता दिनेछु ।’
फाइन प्रिन्टका अजित बरालले सरुभक्तले धेरै पहिले लेखेको विज्ञान कथाहरु पाठक माझ राम्रोसँग नपुगेकाले पुनःप्रकाशन गरेको बताए । उनले सरुभक्तका अन्य किताबहरु पनि छाप्दै जाने बताए ।
सासस केन्द्र नेपालका कार्यक्रम संयोजक महेन्द्र श्रेष्ठले सरुभक्तका धेरै कृतिहरु अझै बाँकी रहेकले प्रकाशक खोजेर बजारमा ल्याउन सहयोग गरिने बताए । किताब विमोचनका अवसरमा कबचगदजबपतब।यचन नामको वेभसाइट समेत सुरु गरिएको जानकारी गराइएको थियो । सरुभक्तका कृतिहरु सम्पूर्ण पाठकमाझ लैजान साइट खोलिएको केन्द्रले जनाएको छ ।
कार्यक्रमकै अवसरमा केन्द्रले फाइन प्रिन्टका अजित बराल र सरुभक्तको उपन्यासकारितामा पिएचडी गर्ने डा. लक्ष्मीनाथ अधिकारीलाइ सम्मान गरेको थियो । यस अघि जन्मदिनकै अवसर पारी सरुभक्तका खण्डकाव्यहरु ज्यानमाया, झुमा, खोल्सावारी खोल्सापारी, भेडिगोठ, गीत संग्रह मनभरी माटोभरी, मुक्तक संग्रह हजार बुद्धहरु, प्रेमयात्रा, गजल संग्रह साइबर क्याफेमा एकदिन, पूर्णाङ्की नाटक शरणार्थीहरु र चुली उपन्यासको अंग्रेजी अनुवद द पिक सासस केन्द्रले विमोचन गरिसकेको छ ।
मनोज घर्तीमगर, पोखरा
