संस्कृतिकै रुपमा मौलाएको बन्द हड्तालबाट मुलुकले २०६२/६३ को जनआन्दोलन पछिका केही वर्ष राहत पायो । तर जब २०६६ लाग्यो बन्द हड्ताल फेरि सुरु भयो । त्यसयता कहिले बाक्लै त कहिले छिटपुट रुपमा भएपनि बन्द हड्ताल जारी छ । बन्दका मुख्य आयोजक राजनीतिक दलहरूले बन्द हडताल नगर्ने पटकपटक सार्वजनिक र लिखित प्रतिबद्धता जाहेर गर्दै आएपनि आफ्ना स्वार्थ प्रतिकुल हुने बित्तिकै बन्दकै सहारा लिने गरेका छन् । यस्तो बन्दबाट आजित बनेकाहरू अब बिस्तारै प्रतिकारमा उत्रन थालेका छन् ।
उपत्यकाका प्रायः सबै चोकमा बिहीबार बिहानै बन्दकर्ता भेला भइसकेका थिए । हातहातमा झण्डा लिएर चर्को नारा लगाउँदै उनीहरूले सडक कब्जा गरे । ठीक यही समय काठमाडौंको सुन्धारामा एउटा र्याली निस्कियो । तर यो र्याली बन्दको समर्थनमा होइन, विरोधमा थियो ।

पटक पटक हुने बन्दबाट आजित बनेका केही युवा यो र्यालीमा सहभागी थिए । मोहन वैद्य पक्षीय नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले उपत्यका बन्दको आह्वान गरेदेखि नै यो र्यालीमा सहभागी केही युवाले सामाजिक सञ्जालको सहारामा बन्दको प्रतिकारमा र्याली निकाल्ने तयारी गरेका थिए । नभन्दै बिहीबार बिहानै उनीहरू जम्मा भए र बन्दको विरोधमा र्यालीको रुपमा उत्रिए ।
र्यालीमा सहभागी समूह ३३ दलीय मोर्चाको विरोधमा थिए, न उनीहरूले उठाएका राजनीतिक एजेन्डाकै । विरोधमा थिए, त केवल बन्दको । बन्दले विशेष त गरिखाने गर्नलाई सास्ती दिएको भन्दै उनीहरूले गरी खान पाउनुपर्ने माग राखे ।
काठमाडौंको सुन्धारामा निस्किएको र्याली प्रतिनिधि मात्र हो । हुनलाई यस्ता बन्दले सबैलाई सास्ती दिने गरेको छ । त्यसैले पछिल्लो समय बन्दको प्रतिकारमा मानिस सडकमै उत्रन थालेका छन् । भदौ २२ गते शनिबार राजधानीमा एउटा त्यस्तै घटना भयो । द्वन्द्वकालीन अवस्थामा गोरखाको फुजेलमा भएको एउटा घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेपछि एकीकृत नेकपा माओवादीले विरोधमा काठमाडौं, गोरखा र चितवन बन्दको आह्वान ग¥यो । शनिबार तिजको दरखाने दिन परेकाले चेलिबेटीहरू बिहानै आफन्त कहाँ जाने तयारीमा थिए । तर अघिल्लो दिनसम्म बन्दको सुईको नपाएका चेलीबेटी एका बिहानै सडकमा बन्दकर्ता देखेपछि आक्रोशित भए । बन्दको व्यापक विरोध भयो, आलोचना र असन्तुष्टि सुनियो । कलंकी, कालिमाटी लगायतका केही स्थानमा महिलाले बन्दकर्तामाथि नै झम्टिए । त्यसपछि चाडपर्वको दिन परेको भन्दै एकीकृत माओवादीले मध्यान्ह १२ बजेबाट बन्द फिर्ता लिएको घोषणा गर्यो ।
बन्दको प्रतिकार गर्नेहरुले मात्रै होइन, सर्वसाधारणले पनि बन्दको विरोध गरिरहेका छन् । बन्दले समस्याको समाधान नदिने भन्दै छलफल र वार्ताका माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने आम सर्वसाधारणको भनाइ छ ।
आनन्द गुरुङ
