दलहरु बैद्य कम्पनीलाई छाडी चुनाव गर्न कस्सिने

Read Time:3 Minute, 26 Second

उच्चस्तरीय राजनीतिक समितिले आफूहरूको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गरेको छ । केही दिन अगाडि निर्वाचन प्रक्रियामा असन्तुष्ट दलहरूसंग निर्णायक वार्ता गर्ने निर्णय गरेको समितिले वैद्य माओवादी मोर्चा निर्वाचनमा सहभागी हुने संकेत नदेखिएपछि सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको हो ।
 हिंजो साँझ नयाँ बानेश्वरस्थित समितिको कार्यालयमा बसेको बैठकले हदैसम्मको लचकता अपनाउँदा पनि वैद्य माओवादी नेतृत्वको मोर्चा निर्वाचनमा सहभागी हुने संकेत नदेखिएको निष्कर्ष निकालेको छ । बैठकमा समितिको संयोजक रहेका काँग्रेस सभापति सुशील कोइरालाले वैद्य माओवादी मोर्चासँगको वार्ताहरूमा अहिलेसम्म भएको प्रगतिबारे जानकारी गराएकाथिए ।
 समितिले वार्ताको ढोका भने खुल्ला राख्ने निर्णय गरेको छ । आज शीर्ष नेताहरूले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटी निर्वाचनको तयारी तीव्र बनाउन आग्रह गर्ने निर्णय भएको एमाले नेता रघुजी पन्तले जानकारी दिए । बैठकमा राष्ट्रपतिसँग शीर्ष नेताहरूले गरेको भेटको बारेमा पनि छलफल भएको थियो ।

राष्ट्रपतिसंग भेट
प्रमुख चार दलका शीर्ष नेताले वर्तमान सरकार परिवर्तन र ४ मंसिरको निर्वाचन सार्नुपर्ने मोहन वैद्य नेतृत्वको मोर्चाको मागमा सहमत हुन नसकिने दोहो¥याएका छन् । राष्ट्रपति रामवरण यादवसँग मंगलबार बिहान शीतलनिवासमा भएको सामूहिक भेटमा नेताहरुले सरकार परिवर्तन र निर्वाचन स्थगनबाहेक अन्य मागमा छलफल गर्न तयार रहेको बताएका हुन् । आमजनता तथा अन्तर्राष्ट्रिय समुदायले समेत ४ मंसिरमै निर्वाचन चाहेको र तयारी अन्तिम चरणमा पुगेकाले निर्वाचन सार्न नसकिने नेताहरूको भनाइ थियो ।
भेटमा नेताहरुले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन भइरहेका प्रयासबारे राष्ट्रपतिलाई अवगत गराएका थिए । काँग्रेस सभापति सुशील कोइरालाका अनुसार राष्ट्रपतिले समय निकै कम रहेकाले असन्तुष्ट पक्षलाई तत्काल सहमतिमा ल्याएर तोकिएकै समयमा निर्वाचन सुनिश्चित गर्न सुझाव दिनुभएको छ । उच्चस्तरीय राजनीतिक समिति संयोजक समेत रहेका कोइरालाले आजै साँझ समिति बैठक बसी वैद्यसँगको वार्तामा अपनाउन सकिने लचकताबारे छलफल गरिने जानकारी दिए ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %