सिंगापुरमा उपचार गराइरहेका पूर्वमन्त्री तथा जनजाति अगुवा गोरेबहादुर खपाङ्गीलाई आइतबार नेपाल ल्याइएको छ । चार महिना अगाडि काठमाडौंको पुरानो बसपार्कमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पूर्वमन्त्री खपाङ्गीलाई उपचारका लागि दुई हप्ता अगाडि सिङ्गापुर लगिएको थियो । सिंगापुरकै सुविधासम्पन्न अस्पताल माउन्ट एलिजावेथमा तीन दिनअघि उनको शल्यक्रिया गरिएको र स्वास्थ्यमा क्रमिक सुधार आएपछि नेपाल ल्याइएको बताइएको छ । 
शल्यक्रियापछि खपाङ्गीको अवस्था सुधारोन्मुख रहेको खपाङ्गीको उपचार सहयोग समितिका सदस्य सञ्जोग लाफामगरले जानकारी दिए । दुर्घटनापछि उपचारका क्रममा हालसम्म एक करोड ५० लाख रुपैया खर्च भइसकेको छ । उपचारका क्रममा सिंगापुरमा मात्र एक करोड रुपैया खर्च भएको जनाइएको छ । खपाङ्गीलाई अबको ६ महिनासम्म नर्सिङ केयरमा राख्नुपर्नेछ । नर्सिङ केयरपछि भने खपाङ्गी पुरानै अवस्थामा फर्कने उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएको सदस्य मगरको भनाइ छ ।

आर्थिक अवस्था कमजोर भएका कारण खपाङ्गी दुर्घटनामा परेलगत्तै आदिवासी जनजाति जन्य विभिन्न संघ–संस्थाहरू र ब्यक्तिले उपचारका लागि आर्थिक सहयोग संकलन गरेर उपचार गराइरहेका छन् । नेपालका विभिन्न अस्पतालमा करिब तीन महिना उपचार गरिए पनि उपचार सफल नभएपछि आदिवासी जनजाति अन्य विभिन्न संघ–संस्थाको सहयोगमा उनलाई सिंगापुर लगिएको थियो ।
आनन्द गुरुङ
तस्वीर- संजोग लाफा
