
ं दोस्रो विश्वयुद्धका योद्धा क्याप्टेन बखानसिंह दुराको ९९ वर्षको उमेरमा पोखरामा निधन भएको छ । उनी तत्कालीन ब्रिटिस इन्डियाको तर्फबाट बर्मा, इटली, मलेशियालगायतका मुलुकहरूमा दोस्रो विश्वयुद्धमा सहभागी थिए । सैनिक सेवाबाट निवृत्त भएपछि क्याप्टेन बखानसिंह दुरा समाजसेवामा लागेकाथिए ।
विसं २०२५ सालमा लमजुङ तत्कालीन रत्नदेवी गाउँ पञ्चायतको कार्यवाहक प्रधानपञ्च बनेर समाजसेवामा संलग्न भएका उनी स्वच्छ छवि भएको निस्वार्थी समाजसेवीको रूपमा परिचित थिए । शाहवंशीय राजसंस्था स्थापना भएको ऐतिहासिक स्थल सिंदुरे ढुङ्गाको उत्थान तथा विकास एवम् त्यहाँस्थित फुटबल मैदान निर्माणमा क्याप्टेन बखानसिंह दुराको महत्वपूर्ण भूमिका रहेको थियो ।
अल्पसंख्यक दुरा समुदायको पहिचान र इतिहास खोज्ने कार्यमा पनि उनको अतुलनीय योगदान रह्यो । दुरा समुदायको छाता संगठन ‘दुरा सेवा समाज’ले उनको निधनमा गहिरो शोक प्रकट गर्दै आत्माको चिरशान्तिको कामना गरेको छ । लमजुङ जिल्ला सिंदुरे गाविस–५, भाँगु, दुराडाँडा घर भएका क्याप्टेन बखानसिंह दुराका स्वास्थ्यको कारण श्रीमती तथा छोरी–बुहारीका साथमा विगत एक दशकभन्दा लामो समयदेखि पोखरामा बस्दै आएकाथिए ।
जगन शर्मा
