कला र संस्कृतिको अनुपम संगमको रुपमा चिनिएको भक्तपुरमा विभिन्न नाचहरु नाचिने गरिन्छ । कतिपय नाच इतिहासको पानामा सिमित छन भने कतिपय नाचहरु अझै अस्तित्वमा छन् । तर रहेका नाचहरु पनि विभिन्न आर्थिक सामाजिक संकटहरुले गर्दा दुर्लभता तिर उन्मुख छन । भक्तपुरका कला र सँस्कृतिका पारखीहरुले बचाईरहेका यस्ता नाच मध्ये मध्यपुर ठिमीको मनाईने नीलबाराही नाच पनि पर्दछ । नेवार समुदायका मनाउँदै आएको यो नाच जिब्रो छेड्ने जात्रापछिको ठूलो नाँच हो । १५ दिन अघिदेखि मूलघरमा सिकाईदै आएको यो नाच राती, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाईने गरिन्छ ।
गाईजात्राको भोलिपल्ट मध्यरातदेखि सुरु गरिने यो नाच चार दिनसम्म सञ्चालन हुने गर्छ । नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भागुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा रहेको छ । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ । देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ । देवता १९ जना, गुरु ६ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने ९ जना गरी यो नाचमा १०० जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील रहने गर्दछन् ।
दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बाँधिएर बोडेमा मनाइने नीलवाराही नाच कहिलेदेखि सुरु भएको भन्ने बारे यकिन नभएपनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको हुनुपर्ने स्थानीयको भनाई छ । नीलबाराही देवीले एकदिन मानिसका रूपमा बोडे सहर आएर स्थानिय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरि राखेर नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाएपछि यो नाच सुरु भएको किम्बदंन्ती एवं जनविश्वास रहदै आएको छ । नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नुहने र जुत्तासमेत लगाउन नहुने नियम छ ।
गुठी नाइके प्रेमचन्द्र अदुवाले भने—‘नाचको नियम कडा छ, देवगणले मुकुण्डो लायर घण्टौसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि काँही बस्न पाईदैन, बस्नैपरे पनि ज्वकालुको काखमा या जिउमा अडेसलगाएर बस्नुपर्छ ।’नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुदैन भन्ने मान्यता रहेको छ । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउँछ भन्ने जनविश्वास रहेको छ । जात्रामा काटमार समेत गर्नु हुँदैन । देवगणहरू नियमभन्दा बाहिर जानु हुँदैन,’—नाचका गुरु कान्छा बालाले भने,—‘नियम कडाइका साथ पालना गर्नुपर्छ, पालना नभए उसैलाई असर गर्छ ।’ परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास अझै रहेकोछ ।
प्रत्येकवर्ष भाद्र द्वितीयादेखि पञ्चमीसम्म यो नाच चल्ने गर्दछ । बिहानीपख देवगणलाई पूजा गर्ने स्थानियको घुईचो लाग्ने गर्छ । जात्रा पहिलो बिहान सकिन्छ , दोस्रो दिनभने बिहान चार बजे सुरु भएर साँझ सम्पन्न हुन्छ भने तेस्रो दिन बिहान सुरु भएर साँझ सम्पन्न हुने परम्परा रहेको छ । नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म नाचको तयारी गरिन्छ । जसलाई नेवारी भाषामा ‘प्याँखा स्यनेगु’ भनिन्छ । नाच सिकाउँदा ताःलगायतको बाजा बजाईने परम्परा रहेको छ । आर्थिक समस्याका कारण देवगणमा देवता बस्न चाहनेको सङ्ख्या घट्दै गएकोमा स्थानियले चिन्ता ब्यक्त गरेका छन् । भगवान प्रतिको आस्था र परम्परा जोगाउनकै लागि यहाँका बासिन्दाले नाचलाई निरन्तरता दिईरहेका छन् ।
नीलबाराही नाचका देवगणले अति कठिन अवस्थामा नाच देखाउने परम्परा रहेको छ । गुठी नाइके अदुवा भन्छन— ‘देवतालाई चढाइएको भेटी गुठीको कोषमा जम्मा हुन्छ, गुठीमा करिब पाँच रोपनी जग्गा छ, त्यसैको बालीबाट यो नाचको तयारी गरिन्छ ।’ उनका अनुसार भेटीबाट सङ्कलन भएको रकमले अन्तिम दिन सामूहिकरूपमा भोज खाने गरिन्छ । खर्च अभावमा नाच संकटमा पर्दै गएको उनीहरुको भनाई छ ।
प्रस्तुति – आनन्द गुरुङ