हिन्दूहरूको पावन पर्व श्रीकृष्ण जन्माष्टमी आज देशभरि भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा एवं भक्तिपूर्वक मनाइदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री पनि भनिन्छ ।आज मुलुकभरिका कृष्ण मन्दिरहरूमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजनर्कीतन गर्नाका साथै विशेष गरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
कृष्णा अष्टमीका अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादव आज बिहानै पाटनको कृष्णमन्दीर जानु भई पुजा अचना गर्नु भएको छ । श्रीकृष्ण जन्मा अक्ष्टमीको अवसरमा र पाटनको कृष्णमन्दीर परिसरमा आज ठूलो मेला लाग्ने गर्दछ । पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको ठानिन्छ ।
महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनका मुखारविन्दबाट व्यक्त भनिएको ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै आफ्नो विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको विश्वास गरिन्छ ।
आनन्द गुरुङ
