गोलमेच सम्मेलनमार्फत राजनीतिक निकास खोज्ने सहमति गरेका उच्चस्तरीय राजनीतिक समितिमा सहभागी दल र नेकपा—माओवादीका ३३ दलीय मोर्चाबीच गोलमेच सम्मेलनकै विषयलाई लिएर वार्ता विफल भएको छ । उच्च स्तरीय राजनीतिक समिति र मोर्चा २ दिन अघि गोलमेच सम्मेलन गर्न सहमत बनेका थिए । गोलमेच सम्मेलनको तयारीका लागि भन्दै विघटीत संविधानसभा भवन नयां बानेश्वरमा भएको वार्तामा नेकपा—माओवादी नेतृत्व मोर्चाले उच्चस्तरीय राजनीतिक समितिमा गोलमेच सम्मेलनसम्बन्धि ५ बुंदे प्रस्ताव पेश गरेलगत्तै समितिमा रहेका प्रमुख चार शक्तिले त्यसलाई अस्वीकार गरेपछि वार्ता विफल भएको हो ।
वार्ता विफल भएपछि त्यसको दोष उनीहरुले एकअर्कालाई लगाएका छन् । वार्ताबाट बाहिरिंदै नकेपा माओवपादीका सचिव देव गुरुङले भने, “राष्ट्रिय सहमति कायम गरेर जानुपर्ने बेलामा उहांहरुले हाम्रो प्रस्तावलाई अस्वीकार गर्नुभएको छ, यसले आफ्नो पुरानै सिण्डिकेट कायम गर्न खोजेर ठूलो भूल गर्नुभएको छ, यो ईतिहासले समिक्षा गर्नेछ । त्यस्तै वार्तापछि एमाले अध्यक्ष झलनाथ खनालले गोलमेच सम्मेलनका लागि माओवादी नेतृत्व मोर्चाले गरेको प्रस्ताव मान्न नसकिने बताए ।
मंसिर चारमा निर्वाचन गर्न समिति दृढ रहेको भन्दै मोर्चाको माग निर्वाचन भांड्न आएको उनले बताए । ‘उहांहरुलाई सहमतिमा आउन समय दियौं, सहमतिमा ल्याउनका लागि अनेक आधारहरु प्रदान गर्यौ, तर आज यस्तो प्रस्ताव राख्नुभयो, जुन नेपालीको चाहना, भावना र राष्ट्रको भावना विपरित छ र राष्ट्रिय सहमति विपरित छ त्यसैले हामीले त्यो प्रस्ताव अस्वीकार गर्यौं । ‘
उच्चस्तरीय राजनीतिक समितिका संयोजक तथा कांग्रेस सभापति सुशील कोईरालाले मंसिर ४ गते नै चुनाव गर्ने गरि पुर्नविचार गर्न माओवादी नेतृत्व मोर्चालाई आग्रह गरे ।
