मन चर्किएकि स्मृतिको उडान

Read Time:4 Minute, 39 Second

निकै कम बोल्ने अनि लजालु स्वभाव स्मृति पुनमगरका विशेषता हुन् । सानैदेखि गीत संगीतमा रुची राख्ने उनी लोक गीत भन्ने बित्तिकै हुरुक्क हुन्छिन् । छिस्ती गाविस वडा नं. – ७ बाग्लुङ्गमा कुलबहादुर पुनमगर र आमा मनकलाको कोखबाट जन्मेकी स्मृतिले प्रारम्भिक अध्ययन जनकल्याण उच्च मावि छिस्तीबाट सुरु गरेर त्यहीबाट प्रवेशिका उत्तीर्ण गरेकी हुन् । उच्च शिक्षा अध्ययनका लागि पोखरा झरेकी उनले पृथ्वीनारायण क्याम्पसबाट बि.एस्सी. (भौतिकशास्त्र), सिध्याएर एम.एस्सी (तथ्यांकशास्त्र) अध्ययनका लागि काठमाडौंमा छिन् ।

सानैदेखि पढाइमा अब्बल उनको अध्ययनमा पनि निकै लगाव छ । स्कुलमा छँदादेखि नै संगीतले छोएको बताउने उनलाई सबैभन्दा मन पर्ने सांगीतिक कार्यक्रमहरू नै हुन् । उच्च शिक्षाका लागि बाग्लुङदेखि पोखरा झरेकी उनी अध्ययनमा मात्रै सीमित रहिनन् । सँगसँगै संगीत प्रशिक्षण केन्द्र पोखरामा संगीतको प्रशिक्षण पनि लिन सुरु गरिन् । त्यही क्रममा पोखराको रेडियो अन्नपूर्ण एफ.एम. र अलिमियाँ लोकवाङ्मय प्रतिष्ठानले आयोजना गरेको अलिमियाँ लोकतारा को उपाधि जितेपछि उनको सांगीतिक यात्रा सुरु भएको छ ।

अलिमिया लोकताराको उपाधी जितेपछि एल्बम निकाल्ने अवसर पाएकी उनले ‘कहाँ छौ र निरमाया’ नामक लोकदोहोरी एल्बम बजारमा ल्याईन् । ‘निरमाया पहिले थियो अहिले छैन’ निरमाया छन् र ? जिज्ञासामा उनले हाँस्दै भनिन् । लोकगीत मात्र नभएर उनी लोकपप र आधुनिक गीत पनि गाउन सक्छिन् उनी । अलिमिया प्रथम लोकताराको उपाधि जितेपछि उनको व्यस्तता पनि बढेको छ  । ‘यसै मेरो सरूमैरानी जलेको मन छ, अझै रुखो सरूमैरानी नबोल चर्कन्छ’ भन्ने बोलको गीत गाएर एकताका सबैको वाहवाही पाएकी उनी फेरी अर्को एल्बमको तयारीमा छिन् ।

अलिमिया लोकतारा भएपछि उनलाई पछ्याउनेहरु थुप्रै छन् । कतिले त उनलाई मोबाईमा एसएमएस गरेर प्रेम प्रस्ताव समेत राखिसकेका छन् । संगीतलाई नै प्राथमिकतामा राखेको बताउने उनले आफ्नो प्रेमी नभएको बताउँछिन् । ‘गाह्रो भन्ने त सबै कुरामा हुन्छ नि, त्यही हो, भनेको समयमा केही काम नहुने । पहिलोचोटि पर्दा गाह्रै छ ।’ एल्बम निकाल्दाको अनुभव सुनाउँदै स्मृति भन्छिन ।

अरुले मनोरञ्जनको माध्यमका रुपमा लिए पनि गीत संगीत जीवनमा अघि बढ्न प्रेरणाको श्रोत हो भन्ने उनको बुझाई छ । संगीतविनाको जीवन अधुरो हुन्छ भन्नेमा उनी सहमत छिन् । सुख दुःखको संगमलाई नै जीवनको रुपमा मान्ने उनी नेपाली संगीतको भविष्य आशालाग्दो भएपनि चुनौतीपूर्ण देख्छिन् । सानो बजार र नयाँ प्रविधिका कारण श्रष्टाहरूलाई अप्ठ्यारो भएको उनको ठम्याइ छ ।

नेपाली संगीत अन्य बाह्य संगीतका तुलनामा जान नसक्नुमा अभ्यास र प्रविधिको कमी जस्तो लाग्छ उनलाई । पूराना लोकगीतहरूको बारेमा अनुसन्धान पनि गर्न मन लागेको छ उनलाई । मगर भाषा र संस्कृतिको बारेमा पनि उनलाई चिन्ता छ । ‘पहिलेदेखि नै बाबाआमाले नबोलेकाले आफ्नो मातृभाषा बोल्न सकिएन’ मगर ड्रेसमा चिटिक्क परेकी स्मृति भन्छिन्,‘बोल्न जानेको भए राम्रै हुन्थ्यो । मगर भाषा सिक्नुपर्छ भन्ने मनमा छ, सिक्ने तरखर गर्दैछु ।’

सविता मगर,पोखरा
तस्वीरहरु ः छवि मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %