गोरेबहादुर खपाङगीको उपचारका लागि विश्वभरका नेपालीहरु एकजुट भैरहेको बखत एनआरएनए हङकङ पनि सहयोगको लागि अगाडी सरेकोछ । हिंजो आईतवार भएको मगरसंघ हङकङको बार्षिकोत्सवको अवसरमा बोल्दै एनआरएनएका अध्यक्ष दुर्गा गुरुङले सरकारले सहयोग नगरेपनि राष्ट्रिय नेता खपाङ्गीलाई उपचारको लागि सिंगापुर लैजान सबै नेपाली उठ्नुपर्ने भन्दै एनआरएनएको कोषबाट ५० हजार नेपाली रकम सहयोग गर्ने घोषणा गरे । देशलाई पहिचानको मुद्दामा ल्याउने र अधिकारका निम्ति मतको राजनीति गर्न र हिंसाको सहारा नलिन सचेत गराउने खपाङगी जनजातिका मात्र नभई राष्ट्रकै नेता भएकोले एनआरएनएले सहयोग गरेको उनको भनाई थियो । हङकङ एनआरएनले सधैं नयाँ काम गरेकोमा त्यसको अरुले पनि पछ्याउने अपेक्षा गरिएकोछ ।

त्यसै कार्यक्रममा राज्यसत्ता डटकमले पनि १ लाख ७० हजार सहयोग राशीको घोषणा गर्यो ।राज्यसत्ता डटकमका हङकङ संयोजक भीम थापाका अनुसार, खपाङगी देशलाई जातीय हिंसाबाट बचाउदै सबै उत्पिडितहरुलाई सत्ताको मालिक बनाउनुपर्छ भन्दै चेतना छर्ने अग्रज भएको हुनाले राज्यसत्ता टिमले निर्णय गरि आफ्नो कोषबाट सो सहयोग उपलब्ध गराएको बताए ।
त्यसैगरि एथ्निक भ्वाईस साप्ताहिकले २० हजार नेरु सहयोगको घोषणा गर्यो । एथ्निक भ्वाईसका प्रकाशक बिनय शाहले त्यसमा ब्यक्तिगत रुपमा १२ हजार रकम थप गरिदिएकाथिए ।बिनय शाह भन्छन, खपाङगी जनजातिका मात्र नेता होईनन । उनी समग्र नेपाली र राष्ट्रका नेता हुन । जसले दुखियाराको लागि भन्दै आफ्नो सर्वश्व लुटाएर जिन्दगीभर हिड्यो त्यस्ता ब्यक्तित्वलाई स्वंय जनजातिहरुले समेत उचित मुल्यांकन गरेको जस्तो देखिएन । यस्ता ब्यक्तिलाई सबै नेपालीले गच्छे अनुसारको सहयोग गर्नुपर्दछ ।
कार्यक्रममा ब्यक्तिगत रुपमा सहयोग गर्ने अन्य ब्यक्तिहरुको समेत नामावली वाचन गरिएकोथियो ।सरकारले कुनै सहयोग नदिएपछि विश्वभरका नेपालीहरुले खपाङगीको उपचारका लागि आर्थिक संकलन गरिरहेकाछन् । नेपालमा हुन नसकेपछि सिंगापुर लैजान परेको र त्यसका लागि करिब ५० लाख लाग्ने भनेपछि यस्तो आर्थिक सहयोग संकलन अभियान थालिएकोछ ।
